जनसम्पर्क बढाउँदै उम्मेदवार

कार्तिक ५, २०७९

सन्जु पौडेल

लुम्बिनी — आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि यतिबेला उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् । पुराना अनुहार आफ्ना कार्यकर्ता र पहिले मतदान गरेका मतदातालाई भेटी मत दिएबापत आफूले गर्ने कामबारे प्रस्ट्याउँदै छन् भने नयाँ अनुहार आफू र आफ्नो योजना परिचित गराउँदैछन् ।

विभिन्न दलका उम्मेदवारको प्रचारप्रसारका लागि रूपन्देहीमा क्षेत्रैपिच्छे जनसम्पर्क कार्यालय विस्तारको कामले समेत तीव्रता पाइरहेको छ । ती कार्यालयको उद्घाटन गर्ने, आमनागरिक बोलाउने, उनीहरूबीच आफ्ना धारणा राख्ने काम उम्मेदवारले गरिरहेका छन् ।

रूपन्देहीमा मुख्य राजनीतिक दलका पुरानै अनुहार चुनावी मैदानमा उत्रिएका छन् भने स्वतन्त्र र अन्य दलबाट केही युवा उम्मेदवार पनि प्रतिस्पर्धा गर्दै छन् । क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारी दिएर मतदाताबीच पुगिरहेका पूर्वएमाले नेता घनश्याम भुसाल आफ्ना पुराना कार्यकर्तालाई भेट्ने, विचार राख्ने र पार्टी र सरकारमा छँदा आफूले गरेका कामबारे मतदातालाई आश्वस्त पारिरहेका छन् । उनलाई पाँच दलीय गठबन्धनले पनि समर्थन गरेको छ ।

रूपन्देही–२ बाट नेकपा एमालेका उम्मेदवार बनेका पूर्वअर्थमन्त्री विष्णु पौडेल दिगो विकास र समृद्धि एमालेबाटै सम्भव रहेको बताइरहेका छन् । उनले देशका बालबालिकालाई निःशुल्क शिक्षा, ज्येष्ठ नागरिकलाई सुरक्षाभत्ता र बेरोजगार युवालाई रोजगारी दिलाउने काम एमालेले मात्रै गरेको स्मरण गराउँदै चुनावी प्रचार गरिरहेका छन् । 

क्षेत्र नं. ३ मा राप्रपाका दीपक बोहरासँग भिड्दैछन् वर्तमान गृहमन्त्री बालकृष्ण खाँण । नागरिकताविहीन नेपालीलाई नागरिकता दिनुपर्छ भन्ने मुख्य एजेन्डा बोकेका उनले विकल्पबिना सुकुम्बासी नागरिकलाई हटाउन नमिल्ने बताइरहेका छन् । साथै खाँणले आफू उम्मेदवार बनेको क्षेत्रको एकीकृत विकास एवं यहाँका उद्योगी व्यवसायीलाई मर्का पारिरहेको बैंकले लिने चर्को व्याजदर तत्काल रोक्नुपर्ने विषयलाई चुनावी एजेन्डा बनाइरहेका छन् ।

खाँणले भैरहवा क्षेत्रको विकास गरी रिङरोडसहितको नगर बनाई आर्थिक, भौतिक साथै सामाजिक रूपमा विकास गर्ने बताएका छन् । उद्योगी व्यवसायी देशको आर्थिक समृद्धिको मेरुदण्ड रहेको उनको भनाइ छ । यसै गरी रूपन्देही क्षेत्र नं. ४ र ५ का उम्मेदवार पनि जनताका बीचमा पुगेर आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् । विकास निर्माण र समृद्ध रूपन्देहीको नारा प्रायः उम्मेदवारका एजेन्डा बनेका छन् ।

नेपालको सन्दर्भमा चुनावका बेला मात्रै पार्टी र नेताले जनता सम्झने प्रवृत्ति गलत रहेको राजनीतिक विश्लेषक मनिकर कार्कीले बताए । ‘जनतासँग सधैं नजिक भएर काम गर्नुपर्ने हो, उनीहरूका समस्याबारे परिचित हुनुपर्ने हो,’ उनले भने, ‘नेपालको सन्दर्भमा नेताले चुनाव जितेर गएपछि जनताप्रति उत्तरदायी बन्ने परिपाटी नै रहेन ।’

जनताले मत दिएर जित्ने नेताले ५ वर्षको अवधिमा कतिपटक जनताका बीच आएर समस्या सुन्यो, छलफल गर्‍यो भन्ने विषय मुख्य रहेको मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनालले बताए । उनले आफ्ना कुरा लिएर जनतामाझ जानु असहज नभए पनि निर्वाचनका बेला मात्र जनताबीच जाने प्रवृत्ति घातक रहेको सुनाए । ‘उम्मेदवारले आफ्ना एजेन्डा र पार्टीबारे जानकारी दिनु गलत होइन,’ उनले भने, ‘तर, आक्कलझुक्कल नभएर सधैं जनताको बीचमा रहने काम गर्नु राम्रो हो । जनताले नेता नै नचिन्ने अवस्था आउनु दुर्भाग्य हो ।’

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully