‘गढ’ भत्काउने, जोगाउने कसरतमा उम्मेदवार

सडक, विद्युत् र पर्यटन प्रवर्द्धन चुनावी प्राथमिकतामा

कार्तिक ५, २०७९

म्याग्दी — आसन्न निर्वाचनमा यहाँबाट एमालेका हरिकृष्ण श्रेष्ठ र सत्ता गठबन्धनबाट कांग्रेसका खमबहादुर (खम्वीर) गर्बुजा चुनावी प्रतिस्पर्धामा छन् । ०७० मा एमालेका नवराज शर्मा र ०७४ को निर्वाचनमा एमालेकै भूपेन्द्रबहादुर थापाबाट पराजित कांग्रेस जिल्ला सभापति गर्बुजा गठबन्धनको सहारामा एमालेको ‘पकड क्षेत्र’ भत्काउन तेस्रोपटक प्रयास गर्दै छन् ।

कर्णेल नाराणसिंह पुनले ०५६ मा र माओवादीले ०६४ मा बाहेक सवै निर्वाचनमा एमालेले जित्दै आएको यस क्षेत्रलाई पुनः जोगाउने चुनौतीमा छन्, पूर्व जिल्ला अध्यक्षसमेत रहेका एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ । ‘मेरो चुनावी अनुभव ०७४ सालको अवस्थामा छैन । दुई वटा चुनावबाट खारिएको छु । यसपल्ट कम्युनिष्ट किल्ला भत्काउँछु’ गर्वुजाले भने, ‘जनताको सर्मथनबाट म उत्साही छु ।’

हालै सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार सत्ता गठबन्धनभन्दा ४ हजार कम मत पाएको एमालले स्थानीय तह निर्वाचनको मत सुरक्षित गर्ने र कांग्रेस र गठबन्धनभित्रकै भोटले चुनाव जित्ने रणनीतिमा छन् । गठबन्धनका उम्मेदवार गर्बुजासँग रुष्ट कांग्रेसको पुरानो पुस्ता उनलाई ‘साइजमा’ ल्याउने र गत स्थानीय तह निर्वाचनमा माओवादीबाट धोका खाएको कांग्रेसको एउटा तप्का बदलाभावमा देखाएको एमालेको बुझाइ छ । ‘आफ्ना मतदाता सुरक्षित गरे, कांग्रेस र गठबन्धनकै भोटले मैले चुनाव जित्छु । गठबन्धनले अपनाएको उग्रजातिवादविरुद्ध जनताले मतदान गर्नेछन्,’ श्रेष्ठले भने, ‘जिल्लामा विद्युत्, धार्मिकसमेत सबैखाले पर्यटन विकास, फलफूल, पशुपालनमा आधुनिकीकरणमार्फत रोजगारी सृजनामा मेरो पहल रहन्छ ।’ 

सवै उम्मेदवारले चुनाव जितेमा मोटरबाटो, खानेपानी, सिंचाई, जलविधुत, स्वास्थ, कृषीमा आधुनिकिकरण गर्ने, हररेक घरमा इन्टरनेट पुर्‍याउने, गाउँगउँमा पर्यटकीय गन्तव्य बनाउने र युवालाई रोजगारीमा जोड्ने आशा देखाएका छन् । मतदाताको मन जित्न सबै दलका उम्मेदवारले ठाउँ र भेगअनुसार फरक–फरक विकासका नारालाई चुनावी एजेन्डा बनाउने गरेका छन् । जिल्लाको पश्चिम भेगका बस्तीमा पुग्दा उम्मेदवारले धौलागिरि हिमाल, ढोरपाटन सिकार आरक्षमा पर्यटन विकास गर्ने, पश्चिम भेगका दुर्गम बस्तीमा बिजुली ल्याइदिने दिने गरेका छन् । 

त्यसैगरी सवै उम्मेदवारले राहुघाट क्षेत्रमा पुग्दा टोड्के, रिखार र धौलागिरि आइसफलमा पर्यटन विकास गर्ने, सबै गाउँमा बिजुली र मोटरबाटो ल्याउने, मध्य क्षेत्रमा पुलस्स, गलेश्वर क्षेत्रमा धार्मिक पर्यटन विकास गर्ने, मोटरबाटो स्तरोन्नत गर्ने आशा देखाउने साझा आश्वासन बाँड्दै आएका छन् । त्यसैगरी उत्तरी भेगमा पुग्दा बेनी–जोमसोम सडक कालोपत्रे, कालीगण्डकी करिडोर जलविद्युत् आयोजनामा स्थानीयको लगानी सुनिश्चित, पर्यटन विकासजस्ता तत्कालीन र क्षेत्रीय आवश्यकतालाई ‘क्यास’ गर्ने गरेका छन् ।

गर्बुजाले जनताको सेवा गर्न बेलायतको सुखसुविधा त्यागेर जिल्ला आएको दाबी गर्दै आफूले चुनाव जितेमा जिल्लाको सबै बस्तीमा स्तरीय मोटरबाटो, पर्यटन तथा ऊर्जामा लगानी वृद्धि गरी रोजगारी दिने, जिल्लाका सबै जग्गाजमिनको आधुनिक रूपमा नापनक्सा बनाउने, रेमिटेन्सको रकमलाई पर्यटन, जलस्रोत र वनपैदावरको क्षेत्रमा लगानी गर्ने, बेनी जोमसोम सकड कालोपत्र गरिदिने उनका प्रतिबद्धता छन् । 

त्यसैगरी, एमालेको प्रतिबद्धतापत्रमा पनि परम्परागत विकासे आश्वासन शैली नै अपनाएका छन् । श्रेष्ठले पनि चुनाव जितेमा जिल्लाका गाउँ/नगरपालिकाका सबै वडा तथा बस्तीमा मोटरबाटो पुर्‍याउने, कृषिमा आधुनिकीकरण गर्ने, जिल्लामा उत्पादन हुने जलविद्युत्मा जिल्लावासीको लगानी सुनिश्चित गरिदिने, पर्यटन विकास गरिदिने, जिल्लाका सबै स्थानीय सडकलाई कम्तीमा ग्राभेल र कालोपत्रे तहमा स्तरोन्नति गर्ने, गुणस्तरीय स्वच्छ खानेपानी पुर्‍याउने, घोप्टोखोला, चिमखोला–राखु बृहत् खानेपानीजस्ता अधुरा ठूला योजना सम्पन्न गर्ने, आकर्षक आशा देखाएका छन् ।’

Link copied successfully