लमजुङ — सुरक्षाका हिसाबले लमजुङका २२ मतदानस्थल अति संवेदनशील क्षेत्रमा परेका छन् । ८३ मतदानस्थल संवेदनशील छन् । अति संवेदनशील र संवेदनशील क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।
मतदानस्थलमा खटाउन सुरक्षाकर्मी अपुग भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी थप परिचालन हुनेछन् । यसको तयारी भइरहेको सुरक्षा समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
मंसिर ४ मा हुने निर्वाचनका लागि जिल्लामा २३ मतदानस्थल मात्रै सामान्य देखिएका छन् । भौगोलिक दृष्टिकोणबाट सदरमुकामबाट टाढा, दुर्गम, विगतका घटनालगायतका सुरक्षा खतरा देखिएका ठाउँ अति संवेदनशीलमा परेका प्रजिअ वैद्यले बताए । घटना दुर्घटना हुँदा तत्काल थप सुरक्षाकर्मी परिचालन हुन नसक्ने क्षेत्रहरू अति संवेदनशील क्षेत्रमा छन् ।
सुरक्षा स्रोतका अनुसार बुथ क्याप्चर तथा गुन्डागर्दी हुन सक्ने क्षेत्र पनि अति संवेदनशील मतदानस्थल हुन् । ‘अति संवेदनशील र संवेदनशील क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन हुनेछ,’ उनले भने ।
सुरक्षा समितिले सामान्य मतदानस्थलमा म्यादीसहित ९ जना प्रहरी खटाउने तयारी गरेको छ । संवेदनशीलमा थप १ जना र अति संवेदनशीलमा २ जना थप गरेर प्रहरी परिचालन गरिने डीएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसारभित्र हतियारसहित प्रहरी बस्छन् । उनीहरूको ‘ब्याकअप’ मा म्यादी प्रहरी हुन्छन् । बाहिरी घेरामा सशस्त्र प्रहरी र मतदानस्थल देखिने ठाउँमा नेपाली सेना परिचालन हुने उनले बताए ।
