गठबन्धनको औचित्य पुष्टि गर्न भेला

अझै केही वर्ष गठबन्धन जरूरी : देउवा, लोकतन्त्र सिध्याउने प्रयास भएपछि गठबन्धन : दाहाल, संविधान रक्षा गर्न जोखिम मोल्यौं : नेपाल

कार्तिक ५, २०७९

घनश्याम गौतम

रुपन्देही — पाँच दलबीच गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका सत्ता पक्षीय शीर्ष नेताले गठबन्धनको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् । चुनाव प्रचारप्रसारसहितको शुक्रबार बुटवलमा भएको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षणमा उनीहरूले गठबन्धन किन बनाएको भन्ने विषयमै समय खर्चिए । 

प्रशिक्षण एवं भेलामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रश्मीराज नेपाली, लोसपाका प्रदेश अध्यक्ष सन्तोष पाण्डेय, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाँणले बोलेका थिए ।

सबै नेताले एमाले नेतृत्वको गठबन्धनलाई प्रतिगमनकारीको संज्ञा दिंदै त्यसबाट संविधानको रक्षा र परिवर्तन जोगाउने मुल उद्देश्यका साथ गठबन्धन गरेको बताए । अहिलेको गठबन्धन चुनाव जित्न तालमेल मात्र नभएर संविधानको रक्षा, गणतन्त्र संस्थागत र परिवर्तन जोगाउनकै लागि भएको उनीहरूको स्पष्टोक्ति थियो । 

भेलामा कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले संविधानको रक्षा दलहरूको प्रमुख दायित्व भएकाले गठबन्धन दलभित्र एक–अर्कालाई विश्वास दिलाउने गरी काम गर्न आग्रह गरे । ‘संविधान सिध्याउन खोज्नेहरूले अझै पनि प्रतिगामी गठबन्धन गरेर अघि बढेकाले अझै केही वर्ष गठबन्धन जरुरी छ,’ उनले भने, ‘यो गठबन्धन चुनावसम्मका लागि मात्र होइन, धेरै वर्ष रहनु पर्छ ।’ गठबन्धनले चुनावमा बहुमत ल्याएपछि थप कुरा विकास हुने उनले दाबी गरे । तर, थप के हो खुलाएनन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले संविधानलाई क्षतविक्षत गरेर समाप्त पार्ने प्रयास भएपछि गठबन्धन गरेर अघि बढेको बताए । ‘हामीले जोखिम नउठाएको भए, प्रतिकार नगरेको भए आज संविधान नै क्षतविक्षत हुने थियो, लोकतन्त्र खल्बलिने थियो,’ उनले भने, ‘हामीले त्यही संविधान रक्षा गर्न यो जोखिम मोलेका थियौं । आज यो लोकतान्त्रिक गठबन्धन त्यही जोखिमको निरन्तरता हो ।’

प्रशिक्षण कार्यक्रममा एमाले छोडेर गठबन्धनको समर्थनमा स्वतन्त्रबाट रूपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका वामपन्थी नेता घनश्याम भुसाल पनि उपस्थित थिए । नेता नेपालले भुसालप्रति लक्षित गर्दै केपी ओलीलाई सुधार्न नसकेपछि अहिले छोडेर गठबन्धनमै आएको बताए । ‘घनश्यामजीले साबुन पानीले धोएर सुधार गर्ने प्रयत्न गर्नु भयो तर सक्नु भएन, उहाँले मात्र होइन कसैले पनि ओलीलाई सुधार्न सक्दैन,’ उनले भने, ‘त्यो प्रयास मैले र कमरेड प्रचण्डले पहिल्यै गरेका थियौं ।’

प्रशिक्षणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले यसपटकको निर्वाचनको विशेष अर्थ र महत्त्व रहेको बताए । दुईतिहाइको सरकार ध्वस्त पारेर देशलाई अराजकता र अस्थिरतातिर धकेल्ने र लोकतन्त्र सिध्याउने प्रयास भएपछि गठबन्धन गर्नु परेको उनले दाबी गरे । दुई तिहाइ प्राप्त सरकारले देश र जनताको पक्षमा काम गर्न छोडेर सुनियोजित रूपमा भ्रष्टाचार र कोभिडको चरम संक्रमणको बेलामा समेत त्यही कोभिडको उपकरण र औषधि खरिदमाथि भ्रष्टाचार गर्न थालेपछि जनताको रक्षा गर्न पनि गठबन्धन बनेको बताए ।

‘भ्रष्टाचार नियन्त्रण गरौं, सुशासन कायम गरौं भन्दा उल्टै हामीलाई काम गर्न दिएनन् भन्ने आरोप लगाइयो,’ उनले भने, ‘भ्रष्टाचारको विरोध गर्दा उल्टै सार्वभौम सत्ता नै समाप्त गर्ने प्रयास भएपछि त्यसबाट देश, संविधान र लोकतन्त्र जोगाउन हामीले यो गठबन्धन बनाएका हौं ।’ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो चुनावमा मुलुकमा दुई गठबन्धन होइन, अग्रगामी र प्रतिगमन पक्षधरबीचको प्रतिस्पर्धा भएको बताए । ‘हामीले अग्रगमन पक्षधरको नेतृत्व गर्दै लोकतान्त्रिक गठबन्धन गरेका छौं,’ उनले भने, ‘त्यसलाई जिताउन हरेक किसिमका प्रयार गर्नुहोला ।’ 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully