रामपुर नगरपालिकामा कांग्रेस र एमालेको संकल्प सार्वजनिक

वैशाख २२, २०७९

माधव अर्याल

पाल्पा — स्थानीय तह निर्वाचनका लागि रामपुर नगरपालिकाका कांग्रेस र एमालेले संकल्प सार्वजनिक गरेका छन् । एमालेल डिटिजल रामपुर बनाउने प्रतिबद्धता सार्वजनिक गरेको छ भने कांग्रेसले अघिल्लो स्थानीय तहबाट निर्वाचित भएपछि बाँकी रहेका अधुरा कार्यलाई निरन्तरता र पूरा गर्ने संकल्प गरेको छ ।

सुशासन युक्त, सबल र समुन्नत, स्मार्ट रामपुर निर्माण गर्ने कांग्रेसको लक्ष्य छ । यसका लागि अल्पकालीन, दिर्घकालीन योजनासहित बनाउने जनाएको छ । 

संकल्पपत्रमा कांग्रेसले शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानी र सञ्चार, भौतिक पूर्वाधार, धर्म, संस्कृति तथा पर्यटन, कृषि, रोजगार, नगर विशेष सेवाको लागि छुट्टाछुट्टै संकल्प गरेको छ । नगरलाई एक वर्षभित्र हिलोरहित नगर घोषणा गर्ने जनाएको छ । पाँच वर्षभित्र मुख्य सडकदेखि वडा कार्यालय र वडास्तरीय सहरी केन्द्र जाने बाटो ग्रिन रोडको अवधारणा अनुसार कालो पत्रे गर्ने जनाएको छ । 

एक वडा एक पुस्तकालय, १० वटै वडामा सविधासम्पन्न पुस्तकालय स्थापना गर्ने उसले जनाएको छ । शिक्षामा एकरुपता ल्याउने, उत्कृष्ट शिक्षक छनोट गरी अन्तर्राष्ट्रिय शिक्षण सिकाइका लागि सिफारिस गर्ने संकल्प गरेको छ । उत्कृष्ट विद्यार्थीलाई नगरभित्र ५ वर्ष सेवा दिने गरी एमविविएस वा प्राविधिक शिक्षा पढ्न चाहने एक विद्यार्थीलाई २५ प्रतिशत शुल्क बेहोर्ने प्रतिबद्धता जनाएको छ । 

वडामा नियमित विशेषज्ञ डाक्टर र प्राविधिसहितको स्वास्थ्य शिवर सञ्चालन गर्ने संकल्प पत्रमा छ । दिर्घरोगी तथा ६५ वर्ष माथिका जेष्ठ नागरिकको स्वस्थ्य परीक्षण घरघरमै गर्ने व्यवस्था गर्ने भएको हो । नगर उपप्रमुख सुत्केरी पोषण कार्यक्रम अन्तर्गत सुत्केरी पोषण स्याहार भत्ता ५ हजार पुर्‍याउने संकल्पपत्रमा उल्लेख रहेको कांग्रेस नगरसभापति नेत्रप्रसाद भट्टराईले बताए । 

२० युनिट वा सोभन्दा कम प्रयोग गर्ने बिजुली निशुल्क प्रदान गर्ने, वडाको मुख्य स्थानमा फ्रि–वाईफाई जोनको व्यवस्था गर्ने, नगर भित्र एक घर एक धारा कार्यक्रमलाई २ वर्षभित्र सम्पन्न गर्ने योजना अघि सारेको छ । विपन्न परिवारलाई खानेपानी महसुल नि:शुल्क गर्ने, पर्यटन प्रर्वद्धनका लागि भिजिट रामपुर २०८० सञ्चालन गर्ने, जेष्ठ नागरिकहरुलाई नेपालभित्र निशुल्क तीर्थयात्रा गराउने कार्यक्रम तय गरेको छ । 


कालीगण्डकी नदी किनारमा पैदलमार्ग निर्माण गरी रामपुर भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थललाई जोड्ने, कृषक परिचयपत्र र कृषक कार्ड उपलब्ध गराउने संकल्प गरेको छ । २५ हजारदेखि ५ लाखसम्म बिना धितो ऋण उपलब्ध गराउने कांग्रेसको प्रतिबद्धता छ । 

एक घर एक सीप कार्यक्रम, १५ जनाभन्दा बढी रोजगारी दिने उद्योग र संस्थालाई ३० लाखसम्म ऋणको व्याज अनुदान दिने संकल्प गरेको छ । लगानी भित्रयाउनका लागि १० करोड भन्दा बढीको लगानीमा ३० जना भन्दा बढीलाई रोजगारी दिने उद्योगलाई ५० प्रतिशतसम्म विद्युत् महसुल छुट र २ वर्ष सम्म स्थानीय कर छुटको व्यवस्था गर्ने नगर प्रमुखका उम्मेदवार रमण बहादुर थापाले बताए । नगर प्रमुखका उम्मेदवार थापाले यसअघि निर्वाचनमा गरिएका घोषणापत्र अनुसार ५ वर्षमा ९० प्रतिशत उपलब्धी हात पारेको दाबी गरे । ‘यो संकल्पलाई आत्मसात गरेर अघि बढ्नेछौं,’ उनले भने । संकल्पपत्र प्रकाशन समितिका संयोजक तथा नगर सचिव ओम प्रकाश बस्यालले नगरको विकासका लागि संकल्प पत्रलाई आत्मसाथ गरेर काम गर्ने बताए । रामपुरमा २०७४ सालको स्थानीय तह निर्वाचनमा नगरप्रमुख र उपप्रमुख कांग्रेसले जितेको थियो । 

रामपुर नगरपालिकाको नगर प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार शिव अर्यालले ‘डिजिटिल रामपुर’ को अवधारणा अघि सारेका छन् । रामपुर नगरको केन्द्रबाट टाढा रहेका वडाका नागारिकले सेवा पाउन अब केन्द्र धाउने नभइ वडाबाटै घरमै बसेर सेवा लिन पाउने गरी डिजिटल अवधारणा ल्याएको उनले बताए । 

नगरप्रमुख पदमा निर्वाचित भएमा नमुना डिजिटल रामपुर बनाउने मेरो संकल्प उम्मेदवार अर्यालले गर्दै आएका छन् । वडा कार्यालयलाई व्यवस्थापन गरी सहज सेवा दिने र प्रत्येक वडामा एम्बुलेन्स सेवा सञ्चालन गरेर प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता नगरप्रमुखका उम्मेदवार अर्यालको छ । विकासका पूर्वाधारहरुलाई स्तरोन्नति गर्ने र अधुरा कामलाई पूरा गरी अबको पाँच वर्षभित्र रामपुरलाई स्वास्थ, शिक्षा, खानेपानी लगायतका आधारभूत सेवा सहितको सामाजिक न्यायको ग्यारेन्टी, समुन्नत र नमुना नगर बनाउने योजना उम्मेदवार अर्यालको छ । रामपुर नगरपालिकाको समग्र विकास गरी नागरिकको जीवनस्तर उकास्ने उद्घोष गर्दै मानव विकास अन्तर्गत आत्मनिर्भर बनाउने उनको योजना छ । 

रामपुर अस्पतालको सेवा प्रभावकारी बनाउने, प्रत्येक वडामा एक दरबन्दी डाक्टरसहितको स्वास्थ्यसेवा दिने, घरमै बसी बसी जेष्ठ नागरिक तथा एकल महिलालाई भत्ता बुझ्ने व्यवस्था गर्ने उनले प्रतिबद्धता जनाएका छन् । पानी, विद्युत् लगायत राजस्व तिर्न समेत सहज सेवा, नगरभरि फ्रि इन्टरनेट सेवा दिने संकल्प गरेर मत माग्दै हिँडेका छन् । 

पाल्पाकै बगनासकाली गाउँपालिकामा गठबन्धनका दलहरुले संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरे । उनीहरुले  प्रत्येक वडामा खेलमैदान, क्रिकेट र फुटबलको मैदान निर्माण गर्ने जनाउँदै खानेपानीलाई पूर्ण तथा नि:शुल्क, शिक्षा तथा स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय प्रदान गर्ने उल्लेख छ । कांग्रेसबाट अध्यक्षको उम्मेदवार सुनिता अधिकारी र एकीकृत समाजवादीबाट उपाध्यक्षको उम्मेदवार खिमानन्द पाण्डे (कमल) ले प्रतिबद्धता पत्र तयार पारेका हुन् । गाउँपालिकाको सेवालाई विकेन्द्रीकरण गरी घरघरमा सिंहदरबारको नारालाई सार्थक बनाउने उल्लेख छ । शिक्षालाई गुणस्तरीय बनाउँदै, बालमैत्री, विद्यार्थीमैत्री र विपन्नमैत्री विद्यालय बनाउने उल्लेख छ । कालीगण्डकी नदीमा र्‍याफिटङको साथै होमस्टेलाई प्राथमिकता दिँदै बगनासकालीलाई पर्यटन प्रवर्द्धनमा जोड दिने जनाइएको छ । बगनासकाली चक्रपथको निर्माण, युवा स्वरोजगार, पिछडिएको जातजाति उत्थान, बसाइँसराइँ दर घटाउने कार्यक्रम, आत्मनिर्भर कृषि कार्यक्रम तथा बगनासकालीमा रेडियो सञ्चालन गर्ने सम्मका योजना तथा कार्यक्रमहरु समेटेको प्रतिबद्धतामा उल्लेख छ । 

स्थानीय तह निर्वाचन २०७९

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully