बेथानचोकमा गठबन्धनको प्रतिबद्धता : १० वर्षमा सबै क्षेत्रमा आत्मनिर्भर

५ वर्षभित्र धुम्रपानरहित गाउँपालिका घोषणा गर्ने लक्ष्य

वैशाख २२, २०७९

नगेन्द्र अधिकारी

काभ्रे — पाँच दलीय गठबन्धनले बेथानचोक गाउँपालिकलाई १० वर्षभित्र सबै क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्यसहितको प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । पाँच वर्षे कार्यकालमा गर्ने विकासका खाकासहित दीर्घकालीन योजना सार्वजनिक गरेको हो ।

प्रतिबद्धता–पत्रमा १० वर्षमा सबै क्षेत्रमा आत्मनिर्भर बनाउने अठोट गर्दै एक घर एक रोजगारी, एक टोल एक कृषि फर्म, एक वडा एक उद्योग, सम्भावयता हेरेर पर्यटकीय आवास गृह  खोल्ने उल्लेख छ । ५ वर्षभित्र धुम्रपानरहित गाउँपालिका घोषणा गर्ने लक्ष्य गठबन्धन दलको छ । गाउँपालिकामा एक कृषि क्याम्पस, ढुंखर्क–हेटौंडा जोड्ने वैकल्पिक राजमार्ग, विपन्न परिवारलाई एकीकृत आवास निर्माण  गर्ने महत्त्वाकांक्षी योजना पनि प्रतिबद्धता–पत्रमा उल्लेख छ । 

बढीमा २० मिनेटको दूरीमा विद्यालय, एक टोल एक शिशु स्याहार केन्द्र, बहुप्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य लिएको गठबन्धनले एमबीबीएस, इञ्जिनियरिङ, वन विज्ञान, आयुर्वेद, एमफिल, पिएचडीलगायत अनुसन्धान गर्ने अन्यलाई पनि अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । गाउँपालिकावासी सबैलाई स्वास्थ्य विमा सहभागी गराउने सोच बनाएको गठबन्धनले १५ मिनेटभित्र एम्बुलेन्स उपलब्ध हुने गरी ग्रामीण एम्बुलेन्स सेवा सुरु गर्ने जनाएको छ । 

सबै टोल बस्तीमा १२ महिना नै सञ्चालन हुने सहज यातायात, एक वडा एक पक्की सडक, पर्यटकीय स्थलमार्ग स्तरयुक्त बनाउने, कृषक परिचयपत्र वितरण गरेर कृषि ऋण प्रवाह गर्ने र कृषि अनुदान उपलब्ध गराउने, सबै वडामा कृषि उपज संकलन केन्द्र स्थापना गर्ने, गाउँपालिकाले ८० प्रतिशत अनुदान दिएर कृषि बाली तथा पशु बिमा शतप्रतिशत गर्ने, पालिकास्तरीय कोल्ड स्टोर स्थापना, एक वडा एक पुस्तकालय, सबै विद्यालयहरुमा नि:शुल्क इन्टरनेटको व्यवस्था, प्रविधिमैत्री शिक्षण सिकाइ कार्यक्रम, कृषि तथा पशुपालन व्यवसायका लागि अनुदान र मोबाइल भेटनरी गर्ने लगायतका योजना रहेको गाउँपालिका अध्यक्ष उम्मेदवार भगवान अधिकारीले जानकारी दिए । 

गठबन्धनका तर्फबाट अध्यक्षमा कांग्रेसका अधिकारी र उपाध्यक्षमा माओवादी केन्द्रका तारा राना तिमल्सिना छन् । एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दल गठबन्धनमा सहभागी छन् । 

स्थानीय तह निर्वाचन २०७९

नगेन्द्र

Link copied successfully