मैदानमा पुरानै अनुहार

वैशाख २२, २०७९

हरि गौतम

रुकुम पश्चिम — नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा अधिकांश पुरानै अनुहार दोहर्‍याएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसले ४ स्थानीय तहमा यस अघिकै उम्मेदवारलाई अघि सारेको हो ।

मुसीकोट, आठबीसकोट नगरपालिका, बाँफिकोट र सानीभेरी गाउँपालिकाको प्रमुख पदमा कांग्रेसले पुरानैलाई दोहोर्‍याएर टिकट दिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा यी ४ सहित अरु २ स्थानीय तहमा पनि कांग्रेस दोस्रो भएको थियो । जिल्लाका ६ वटै स्थानीय तहमा माओवादीले जितेको  थियो । कांग्रेसले महेन्द्र केसीलाई मुसीकोट र धिरेन्द्र बटालालाई आठबीसकोट प्रमुखको उम्मेदवारमा अघि सारेको छ । बाँफिकोट गाउँपालिकामा जनककुमार बाँठा र सानीभेरीमा गोरखप्रसाद चन्द अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा छन् । ४ वटै स्थानीय तहमा कांग्रेसले एमाले र एकीकृत समाजवादीसित तालमेल गरेको छ । उपप्रमुख र उपाध्यक्षमा भने एमालेका उम्मेदवाहरू छन् । मुसीकोट थलबहादुर ओली र आठबीसकोटमा दिनेश चन्द उपप्रमुखका उम्मेदवार छन् । सानीभेरी गाउँपालिकामा एमालेका प्रकाश खड्काले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । बाँफिकोटमा भने कांग्रेसले नै अध्यक्ष, उपाध्यक्षमा उम्मेदवारी दिएको छ । कांग्रेसले चौरजहारी नगरपालिकामा प्रेमबहादुर ओली र त्रिवेणी गाउँपालिका अध्यक्षमा अमरसिङ खड्कालाई टिकट दिएको छ । चौरजहारीमा पनि कांग्रेस एमालेको गठबन्धन छ । उपप्रमुखमा एमालेका टंकप्रसाद ओलीले उम्मेदवारी दिएका छन् । त्रिवेणीमा अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेसकै उम्मेदवार चुनावी मैदानमा छन् । 

सानीभेरी गाउँपालिका अध्यक्षका उम्मेदवार गोरखप्रसाद चन्दले नेता–कार्यकर्ता र मतदाताको आग्रहमा फेरि चुनावी मैदानमा खटिएको बताए । ‘यहाँ यो वा त्यो भन्ने भएन गाउँ कार्यसमितिले सर्वसम्मत टिकटका लागि सिफारिस गरेको हो,’ उनले भने, ‘यसमा अन्यथा लिनुपर्ने केही छैन ।’ पार्टीको निर्णय कार्यान्वयन गर्नु एक कार्यकताको दायित्व भएर आफू पुनः निर्वाचनको मैदानमा आएको उनको भनाइ छ । कांग्रेस जिल्ला सभापति प्रेमप्रकाश ओलीले तल्लो तहबाट सिफारिस भएर आएकै पात्रलाई उम्मेदवार बनाइएको बताए । ‘यसमा पार्टीका माथिल्ला निकायले हस्तक्षप गर्ने कुरै भएन,’ उनले  भने, ‘यसमा कोही दोहोरिनु भएको छ ।’ २०७४ को स्थानीय तहको निर्वाचनमा केही मतान्तरले मात्रै पराजित भएका पात्र भएकाले पनि टिकट दिने उम्मेदवार बनाउन सजिलो भएको उनको भनाइ छ ।

स्थानीय तह निर्वाचन २०७९

हरि

Link copied successfully