भोट तान्न आकर्षक नारा

भड्किलो प्रचारप्रसारमा पनि उम्मेदवारहरू उत्तिकै सक्रिय

वैशाख २२, २०७९

तुलाराम पाण्डे

कालीकोट — स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका सबैजसो उम्मेदवारले आकर्षक नारासहित प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । चुनावको रौनकसँगै भड्किलो प्रचारप्रसारमा पनि उनीहरू उत्तिकै सक्रिय छन् ।

खाडाचक्र नगरपालिकामा उम्मेदवारी दिएका एमाले, कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले गाडी र अटो रिक्सामा साउन्ड बक्स जडान गरी माइकिङ, चुनावी गीत र नारा घन्काउन थालेका छन् । पहिले निर्वाचित जनप्रतिनिधिले जनअपेक्षा पूरा गर्न नसकेकाले जनता भने आशावादी छैनन् । ‘जन्ले (जसले) जित्या पनि हाम्मा दुःख उस्तै हुन्,’ खाडाचक्र–१ का ७० वर्षीय मोती बादीले भने, ‘न खाने गास छ न बस्ने बास नै ।’ ११ वर्षअघि सरकारले जनता आवास कार्यक्रममार्फत बनाइदिएको उनको घर अहिले सानो पानी पर्दा पनि चुहिन्छ । भित्ता चर्किएर भत्किने अवस्थाका छन् । उनका अनुसार गाउँमा १८ घर परिवारका बादी समुदायले जग्गाको पुर्जा पनि पाएका छैनन् । 

निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू आकर्षक नारासहित क्षमताभन्दा माथिका घोषणापत्र तयार गर्दै भोट बटुल्न घर घर पुगेका छन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकासमा पछि रहेका विकट क्षेत्रका बासिन्दालाई सबै सेवा निःशुल्क प्रदान गर्ने फर्जी आश्वासनका पोका लिएर उम्मेदवार घरदैलोमा गएको मानवअधिकारकर्मी कालीबहादुर मल्लले बताए । उनले कतिपय उम्मेदवार पैसाको बलमा चुनाव जित्ने दाउमा रहेको पनि सुनाए । 

उम्मेदवारका घोषणापत्र र स्थानीयरुपमा गरेका वाचा मतदाताले पत्याएका छैनन् । ‘भन्न त सबैले पहिले पनि यो गर्छौं र ऊ गर्छौंर् भनेकै थिए,’ खाडाचक्र–११ का ज्ञानेन्द्रबहादुर शाहीले भने, ‘भोट तान्न जे भने पनि जनता दुःख उस्तै हुन् ।’ 

 सुखी र समृद्ध खाडाचक्र बनाउने नारासहित विजयी बनेको एमालेले ५ वर्षको अवधिमा नगरको भवन पनि बनाउन नसकेको स्थानीयको गुनासो छ । ‘भाडाकै घरमा नगरपालिका छ,’ खाडाचक्र–४ का रविन्द्र विकले भने, ‘कामभन्दा कुरा धेरै भए, अव कुरा होइन काम गर्नेलाई जिताउनुपर्छ ।’

सदरमुकामको खाडाचक्र नगरपालिकामा एमाले, कांग्रेस, एकीकृत समाजवादी, माआमोवादी केन्द्र, राप्रपा, चन्द समूहको स्वतन्त्र गरी ५ जनाको उम्मेदवारी छ भने उपप्रमुखमा ४ जना छन् । उनीहरू सबैले शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने महत्त्वाकांक्षी नारा र योजना अघि सार्दै भड्किलो प्रचार गरिरहेका छन् । एमालेबाट ०७४ को चुनाव जितेका नगर प्रमुख जसीप्रसाद पाण्डे खाडाचक्रमा फेरि दोहोरिएका छन् । संघीयतापछि नयाँ घोषणा भएको नगरपालिका भएकाले जग बनाए पनि काम पूरा गर्न नपाएकोले नगरवासीलाई पुनः अवसर दिन उनले आग्रह गरेका छन् । ‘सुन्दर र समृद्ध खाडाचक्र निर्माणको आधार, अधुरा काम पुरा गर्न एमालेकै सरकार’ नारासहित चुनावी अभियान तीव्र पारिएको उनले जानकारी दिए ।

नगरको प्रशासनिक भवनका लागि जग्गा व्यवस्थापन गरी टेन्डर भइसकेकाले सुविधासम्पन्न आधुनिक प्रशासनिक भवन र ११ वटै वडा कार्यालय निर्माण गर्ने उनले बताएका छन् । त्यस्तै, चुलिमालिका–ढडार बृहत् खानेपानी आयोजना पूरा गर्ने, एक वर्षभित्रै एक घर एक धारा जडान गर्ने, डोजरबाट सडक खन्ने काम बन्द गर्नेलगायत एजेन्डा उनले अघि सारेका छन् । 

५ वर्षमा नगरवासीका थुप्रै सपना भए पनि पूरा हुन नसकेकाले आफूले नगर प्रमुखमा उम्मेदवारी दिएको कांग्रेस नेतृ ताराकुमारी शाहले बताइन् । ‘खाडाचक्रलाई आधुनिक सहर र आत्मनिर्भर गाउँ बनाउन मेरो उम्मेदवारी हो,’ गठबन्धनबाट उम्मेदवारी दिएकी उनले भनिन्, ‘समृद्ध, सुखी र सुन्दर खाडाचक्र बनाउने मेरो सपना हुनेछ ।’ उनले आफू महिला भएकाले पनि नगरबासीको समावेशी आवाज बन्ने बताउँदै सबै खाले विभेद र हिंसामुक्त नगर बनाउन, गुणस्तरीय भौतिक पूर्वाधार निर्माण गर्न आफूले जित्नुपर्ने तर्क गरिन् । 

खाडाचक्रमै एकीकृत समाजवादीको प्रदेश सदस्य भएर पनि गठबन्धनमा नपरेपछि स्वतन्त्र नगर प्रमुखको उम्मेदवारी दिएका कमलबहादुर शाही, राप्रपाका धर्मदत्त आचार्य र चन्द समूहका हस्त विश्वकर्माले पनि खाडाचक्रको विकासका लागि आफ्नो उम्मेदवारी भएको दाबी गरे । खाडाचक्रमा ०७४ को निर्वाचनमा एमालेका जसीप्रसाद पाण्डेले २ हजार २ सय भोट ल्याउँदा माओवादी केन्द्रका लक्ष्मीप्रसाद चौलागाई र कांग्रेसका पदमबहादुर शाहीले १४/१४ सय मत पाएका थिए । अहिले कांग्रेस र माओवादीबीच खाडाचक्रमा गठबन्धन भएको छ । एमाले विभाजित भएको र माओवादीसँग गठबन्धन भएकाले आफूले सहजै जित्ने शाहको दाबी छ । 

रास्कोट नगरपालिका प्रमुखमा एमालेबाट उम्मेदवारी दिएका दयाराम सिम्खडाले डिजिटल रास्कोटको सपना बाँड्दै रास्कोटलाई भ्रष्टाचार शून्य बनाउन आफ्नो उम्मेदवारी भएको तर्क गरे । उनले योजनामा बाँडीचुडी खाने प्रवृत्तिको अन्त्य गर्न समुदायको संलग्नतामा उपभोक्ता समिति गठन र कामको जिम्मेवारी दिने वाचा गरेका छन् । माओवादी केन्द्रबाट गठबन्धनका उम्मेदवार धर्मराज शाहीले रास्कोट नगरले पहिले गरेका सकारात्मक कामलाई निरन्तरता दिँदै सान्नीगाड–रास्कोट सडक कालोपत्रे गर्ने, नगरमा स्कुल बस सञ्चालन गर्ने, फ्री वाइफाई जोन बनाउनेलगायत एजेन्डा अघि सारेका छन् । रास्कोटमा चन्द समूहबाट संविधानसभा–०६४ की सभासद धीरेन्द्राकुमारी उपाध्याय, कांग्रेसका नवराज बराल, जनमोर्चाका पुष्पराज शाहीलगायतको उम्मेदवारी छ । रास्कोटमा पनि पहिलेको चुनावमा एमालेबाट नगरप्रमुख उठेर १ सय ५० मतान्तरले पराजित भएका मनिप्रसाद बराल माओवादी केन्द्रको गठबन्धनमा उपप्रमुखका उम्मेदवार छन् ।

स्थानीय तह निर्वाचन २०७९

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully