‘हामी त भोट बैंक मात्र भयौं, मत माग्नका लागि झूटो आश्वासन दिन्छन्, जितेपछि फर्केर पनि हेर्दैनन्’
दैलेख — भगवतीमाई गाउँपालिका–५ का २५ वर्षीय रत्नबहादुर खड्कालाई भेट्न दिनहुँ कुनै न कुनै दलका नेताहरू आइरहन्छन् । सानै उमेरदेखि शारीरिक अपांगता भोगिरेहका उनलाई यसअघिका चुनावमा पनि उम्मेदवारहरूले विभिन्न आश्वासन दिए । ‘चुनावमा त रोजगारीदेखि परिवारको खर्चसम्म दिन्छु भन्छन्,’ उनले भने, ‘तर जितेर गएपछि बैसाखी पनि दिन सकेनन् ।’
नारायण नगरपालिका–१ स्थित नमुना बादी बस्तीका स्थानीय पनि २० वर्षदेखि लालपुर्जाविहीन छन् । निर्वाचनको बेला पुग्ने सबै उम्मेदवारले लालपुर्जा दिलाउने बाचा गरे पनि जितेर गएपछि फर्केर नआउने गरेको स्थानीय कमला बादीले बताइन् । ‘हामी त भोट बैंक मात्र भयौं,’ उनले भनिन्, ‘मत माग्नका लागि झूटो आश्वासन दिन्छन्, जितेपछि फर्केर पनि हेर्दैनन् ।’ योपल्ट लालपुर्जा दिन लिखित प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र भोट दिने उनको भनाइ छ । उनले वर्षौंदेखि दलहरूले लालपुर्जाको सपना बाँडिरहेको बताइन् । उनका अनुसार गाउँमा मजदुरी नपाउँदा गाउँका अधिकांश युवा कमाइ गर्न भारत गएका छन् । पुर्ख्यौली पेसा पनि संकटमा परेपछि जीविकोपार्जनमा समस्या भएको उनले बताइन् । गत निर्वाचनमा जनप्रतिनिधिले मतदातालाई गरेरका बाचा पूरा नगरेकाले अहिलेका उम्मेदवारप्रति आफूहरूको भरोसा नभएको उनको भनाइ छ । झन्डै दुई दशकदेखि लालपुर्जाको आसमा बसिरहेको नमुना बस्तीकी निर्मला बादीले बताइन् । ‘लालपुर्जा पाए जीविकोपार्जनमा सहयोग पुग्थ्यो,’ उनले भनिन्, ‘ऋण कारेर भए पनि केही उद्यम गर्न सकिन्थ्यो, अहिले त आफू बसिरहेको घरबाट कसैले निकाल्ने हो कि भन्ने डर छ ।’ चुनावमा बादी समुदायको मत निर्णायक मान्ने दलहरूले लालपुर्जाको कुरा वर्षौंदेखि बिर्सिरहेको उनको गुनासो छ । उनले गरिब र निमुखालाई भोटका लागि मात्र प्रयोग गरिएकामा आपत्ति जनाइन् ।
यसअघिको निर्वाचनमा गरेरका बाचा जनप्रतिनिधिले पूरा नगरेकाले यो निर्वाचनमा केही सोच्नुपर्ने बेला आएको बादी बस्तीका नरेश बादीले बताए । ‘अहिले त उम्मेदवारले लिखित सहमति गरेपछि मात्र भोट दिने निर्णय गरेका छौं,’ उनले भने, ‘नेताहरूले जितेपछि महल ठड्याउँछन्, हामी भने मजदुरीका लागि बर्सेनि भारत जानुपर्छ ।’ उनका अनुसार नमुना बस्तीका ७० घरमा झन्डै २ सय परिवारको बसोबास छ ।
अघिल्लो निर्वाचनमा उम्मेदवारहरूले ल्याएका एजेन्डा फेरि दोहरिएको नारायण नगरपालिकाका–१ का गंगाराम विकले बताए । ‘योपल्ट पनि हाम्रा लागि फकाउने एजेन्डा मात्र छन्,’ उनले भने, ‘अब त पार्टी हेरेरभन्दा पनि व्यक्ति हेरेर मतदान गर्नुपर्ने अवस्था आएको छ, अघिल्लो चुनावले हामीलाई धेरै पाठ सिकाएको छ ।’
