बुटवल — कोभिड–१९ बाट संक्रमित बालबालिका गर्भवती र सुत्केरीको सरल र सहज किसिमबाट उपचार सेवा पुर्याउन भन्दै बुटवल उपमहानगरपालिकाले सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई आर्थिक सहयोग गरेको छ ।
कोभिड प्रभावित बालबालिका, गर्भवती र सुत्केरीलाई लक्षित आधुनिक उपकरण जडित सुविधा सम्पन्न उपचार केन्द्र बनाउन ५० लाख रुपैयाँ विनियोजन गरेको नगर प्रमुख शिवराज सुवेदीले बताए । कोभिडको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने विज्ञहरुको सुझाव अनुसार हाल अस्पताल व्यवस्थापन भइरहेको उनले बताए ।
आम्दा अस्पतालका मेसु डा. राजेन्द्रप्रसाद बस्यालले उपमहानगरबाट ५० लाख बराबरको स्रोत सुनिश्चित भएको बताए । ३० लाख रुपैयाँ प्राप्त भइसकेको र अस्पालमा उपकरण किनेलगत्तै थप रकम पाइने उनले जनाए । हाल अस्तालमा कोभिड विशेष कक्ष निर्माण गरेर आवश्यक बेड र उपकरण थप गर्न लागिएको छ ।
विसं. २०५५ साल कात्तिकमा स्थापना भएको सिद्धार्थ बाल तथा महिला अस्पतालमा हाल एक सय ५० बेड रहेका छन् । समुदायले सञ्चालन गरेको भए पनि हाल बुटवल उपमहानगरपालिका मातहत रहेको छ । तत्कालका लागि कोभिड विशेष सेवा थप गर्न लागिएको भए पनि नगरपालिकाले यसलाई बाल तथा प्रसूतिको विशिष्टकृत सिटी अस्पतालका रुपमा विकास गर्ने नीति तथा कार्यक्रम बनाएको छ । जसमा संघ, प्रदेशसँगै निजी क्षेत्रको समेत सहयोग लिने उल्लेख छ ।
