जनकपुरमा कोभिड-१९ विशेष अस्पताल सञ्‍चालनमा

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको अन्य सेवाहरु छिट्टै सुरु हुन्छ : मुख्यमन्त्री राउत

असार ३, २०७८

सन्तोष सिंह

जनकपुर — प्रदेश २ सरकारले  जनकपुरधाममा एक सय शय्याको विशेष कोभिड अस्पताल स‍ञ्‍चालनमा ल्याएको छ। जनकपुरको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन भवनलाई मर्मत सम्भार गरेर प्रदेश सरकारले कोभिड-१९ विशेष अस्पताल सञ्चालनमा ल्याएको हो । 

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालन हुने कोभिड विशेष अस्पतालको मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा  उदघाटन गरेका हुन् । 

विगत १ वर्ष अघिदेखि भवनमा कोभिड विशेष अस्पताल सञ्चालन गर्न प्रयास गरिए पनि विभिन्न अवरोधहरुका कारण बिहीबारदेखि मात्र सञ्‍चालनमा ल्याइएको हो । 

अस्पतालको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपतिसमेत रहेका मुख्यमन्त्री लालबाबु राउतले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड संक्रमितहरुको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवाहरु पनि छिट्टै सुरु गर्ने बताए ।  

शिक्षण अस्पताल सञ्चालनका लागि सरकारबाट जग्गा लिजमा लिएका मणिपालले लामो समयदेखि अस्पताल सञ्चालन गर्न नसकेकाले लिज खारेजी गराई उक्त जग्गा प्रष्ठिान मातहत ल्याउने पहल सुरु गरेको उनले बताए । 'मणिपालको भवनमा कोरोना संक्रमितको उपचार मात्र होइन, अन्य विशेषज्ञ सेवा समेत चाँडै सुरु हु्न्छ,' उनले भने । 

समाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेश सरकारको गौरबको योजना रहेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य उपचारको क्षेत्रमा मुलुककै नमुना बन्ने विश्वास व्यक्त गरे । 

कोरोना भाइरस

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully