संक्रमितको उपचारमा रमाउँदै स्वास्थ्यकर्मी

असार ३, २०७८

सम्झना रसाइली

तनहुँ — व्यास नगरपालिका–१ की २२ वर्षीया प्रेमा गुरुङ कोरोना संक्रमितको उपचारमा खटिएकी छन् । बिरामीकै सेवा गर्न मेडिकल फिल्डमा लागेको बताउने यी नर्स पीपीईसहित दमौली अस्पतालको कोभिड उपचार केन्द्रमा संक्रमितसँगै भेटिन्छिन् । 

‘महामारीको समयमा संक्रमितको सेवामा प्रत्यक्ष खटिन पाउँदा जीवनको एउटा लक्ष्य पूरा भएको जस्तो लाग्छ,’ उनले भनिन्, ‘दुई वर्षदेखि अस्पतालमा कार्यरत छु । सानै उमेरदेखि सेतो युनिफर्म लगाएर बिरामीको सेवा गर्ने लक्ष्य थियो । त्यो लक्ष्य त पूरा भयो तर अहिले कोरोना महामारीले थप जिम्मवारी बोध गराएको छ ।’

पहिले फाट्टफुट्ट बिरामीको सेवा गर्ने गुरुङको पछिल्लो दिन संक्रमितको सरसफाइ, औषधि खुवाउने, मनोबल बढाउन उनीहरूसँग कुरा गर्दैमा समय बित्ने गरेको बताउँछिन् । ‘गम्भीर प्रकृतिका संक्रमित मात्र उपचारत हुनुहुन्छ,’ उनले भनिन्, ‘कोही संक्रमित श्वास फेर्न नसकेर आत्तिएको देख्दा डर लाग्छ । संक्रमित निको भई घर फर्किंदा दिने आशीर्वादबाट धेरै खुसी लाग्छ ।’ 

उनीजस्तै अन्य नर्स तथा स्वास्थ्यकर्मीको खटाइ पनि कम छैन । जोखिम भत्ता दिइने भने पनि नदिँदा भने उनीहरूको गुनासो छ । जोखिमपूर्ण कामको क्रममा भत्ताभन्दा पनि संक्रमित निको भएर घर फर्किंदा आफूहरूलाई निकै सन्तुष्टि र खुसी मिल्ने स्वास्थ्यकर्मी बताउँछन् । व्यास–११ की उषा खनाल पनि बन्दीपुर अस्पतालको आइसोलेसनमा संक्रमितको उपचारमा खटिएकी छन् । तर स्वास्थ्य सुरक्षा सामग्री पर्याप्त नभएको उल्लेख गर्दै खनालले भनिन्, ‘हामीलाई आवश्यक पर्दैन भनेर पीपीईसँग लगाइने बुट दिइँदैन । विभिन्न संघसंस्था तथा व्यक्तिहरूले उपलब्ध गराएका स्वास्थ्य सामग्री पनि गुणस्तरयुक्त नहुँदा जोखिम मोलेर काम गरेका छौं ।’ यहाँका दुई स्वास्थ्यकर्मी पनि कोरोना संक्रमित भएका थिए । तर पनि बिरामीको भरोसा आफूहरूसँगै हुने भएकाले नडराई सेवामा खटिएको उनले बताइन् । 

गर्मीमा लगातार लामो समयसम्म पीपीई लगाउँदा पीडा हुने भए पनि बिरामीको अवस्थाले आफ्नो पीडा बिर्सने उनीहरूको भनाइ छ । अन्य अस्पतालमा कोरोना उपचारका क्रममा संक्रमितहरूको मृत्युको खबर सुन्दा मन आत्तिने गरेको उनले बताइन् । खनालले भनिन्, ‘धरैजसो संक्रमित वृद्धवृद्धा हुनुहुन्छ । उहाँहरूलाई देख्दा आमाबुबाको याद आउँछ ।’

देवघाट–३ छिपछिपेकी ३७ वर्षीया श्रीमाया थापा राना ७ वर्षदेखि दमौली अस्पतालमा कार्यालय सहयोगीका रूपमा कार्यरत छिन् । पहिलो चरणको कोरोना संक्रमितको उपचार सेवामा पनि खटिएको उल्लेख गर्दै उनले भनिन्, ‘पहिले पनि आइसोलेसन कक्षमा कोरोना संक्रमितको उपचारमा खटिएकी थिएँ । त्यसैले अहिले डर लाग्दैन । आवश्यकता र बाध्यतासामु डर, भय पनि हराउँदै जाने रहेछ ।’

१२ र १५ वर्षीया दुई छोरीलाई पढाउन भनेर छिपछिपेबाट दमौलीमा कोठा लिएर बसेकी उनी अहिले आइसोलेसनमा संक्रमितको सेवामा खटिएकी छन् । उनले भनिन्, ‘छोरीहरू एक्लै कोठामा छन् । खाना खाने समयमा निकै याद आउँछ ।’

कोरोना भाइरस

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully