पाल्पा — पाल्पामा कोरोना भाइरसको संक्रमणबाट शुक्रबार थप २ जनाको मृत्यु भएको छ ।
लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतालमा एक/एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
तानसेन नगरपालिका–६, क्याम्पस रोडका ७२ वर्षीय पुरुषको युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो । उनको जेठ १ गते एन्टिजेन पोजिटिभ देखिएको थियो । मधुमेह रोगले समस्या भएको उनको श्वासप्रश्वासमा समस्या भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
लुम्बिनी मेडिकल कलेजमा ६१ वर्षीय पुरुषको मृत्यु भएको छ । माथागढी गाउँपालिका–२, रुप्सेका पुरुषको वैशाख २७ गते पोजिटिभ देखिएको थियो । घरमा बसेर उपचार गरेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी मेडिकल कलेज थप उपचारका लागि ल्याएको वडाध्यक्ष जनक रिजेलले बताए ।
