संक्रमितले निजी अस्पतालमा चर्को मूल्य तिर्न बाध्य
पोखरा — सबै सरकारी अस्पतालमा ५० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउन स्वास्थ्य मन्त्रालयले वैशाख २ मा निर्देशन दियो । पोखरामा संक्रमितको संख्या दिनदिनै बढ्दासमेत संघअन्तर्गतको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने कुनै तयारी गरेन ।
प्रदेशमा सरकारीमध्येकै ठूलो यो अस्पतालले वैशाख १६ बाट ३ सय ७० मध्ये जम्मा ५० बेड छुट्याएर उपचार थाल्यो ।
यसअघि प्रदेशअन्तर्गत पोखरा–३० मा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा संक्रमितलाई राखिएको थियो । १५ आइसोलेसन र ४० एचडीयू बेड भएको अस्पतालमा जनशक्ति अभावमा आईसीयू सञ्चालनमा छैन । ५० बेडको संक्रामक अस्पताल भरिएपछि बल्ल प्रतिष्ठान तातिएको थियो ।
वैशाख पहिलो सातादेखि नै गम्भीर प्रकृतिका संक्रमित चर्को शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य भए । अस्पतालले कोरोना संक्रमितको उपचार थालिन्जेल गण्डकी प्रदेश र विशेष गरी कास्की जिल्लामा कोरोना तीव्र गतिमा फैलिइसकेको थियो । ५ दिनमै २५ बेड एचडीयू, १५ बेड आईसीयू र १० बेड आइसोलेसन भरिभराउ भयो ।
मन्त्रालयको निर्देशनबमोजिम प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले एक सय ८५ बेड कोरोना संक्रमितका लागि छुट्याउनुपर्ने हो । तर अस्पतालले हाल ३८ आइसोलेसन, २५ आईसीयू र ३० एचडीयू गरी ९३ बेड मात्रै छुट्याएको छ । हाल आइसोलेसनमा ३८, आईसीयूमा १७ र एचडीयूमा १६ गरी ७१ संक्रमितले उपचार गराइरहेका छन् । संक्रामक तथा सरुवा रोग अस्पतालमा ५० जनाको उपचार भइरहेको छ ।
त्यसबाहेक नयाँ बनेको प्रसूति भवनमा २ सय एचडीयू बेड विस्तार गर्न अस्पताललाई स्वास्थ्य मन्त्रालयले रकम पठाइसकेको छ । उक्त २ सय बेडका लागि सेन्टर सप्लाइ सिस्टमबाट अक्सिजन पाइपलाइन वायरिङ गर्नुपर्ने हुन्छ । त्यसका लागि गण्डकी प्रदेश सरकारले ६२ लाख रुपैयाँ अस्पताललाई दिने सुनिश्चितता पत्र दिइसकेको छ । तर अस्पतालले अझै पनि बेड विस्तार गर्न सकेको छैन । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छैन ।
प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले बेड अभावमा संक्रमितलाई इमर्जेन्सी वार्डमा राखेर उपचार गर्नु परिरहेको स्विकारे । उनका अनुसार बेड विस्तार गर्न अक्सिजन पाइपलाइन फिटिङका लागि टेन्डर आह्वान गरे पनि नपरेपछि पुनः टेन्डर गर्ने प्रक्रियामा छ । ‘अक्सिजन पाइपलाइन जडान नगरी एचडीयू बेड जडान गर्न मिलेन,’ उनले भने, ‘प्रक्रियागत रूपमा जाँदा अझै केही समय लाग्ने भयो ।’ अस्पतालमा बेड विस्तार, लिक्विड अक्सिजन ट्यांक र नयाँ अक्सिजन प्लान्ट जडानका लागि ९ करोड रुपैयाँ संघ सरकारले पठाएको छ । हाल दैनिक एक सयदेखि एक सय ५० सिलिन्डर अक्सिजन उत्पान क्षमताको प्लान्ट राख्न ३ करोड रुपैयाँमा टेन्डर आह्वान गर्ने तयारी रहेको उनले बताए । त्यसबाहेक यसअघि नै रेट्रोफिटिङ योजनाअन्तर्गत अक्सिजन प्लान्ट निर्माणाधीन छ ।
पोखरामा २ सरकारी, १ सामुदायिक र १६ निजी अस्पतालले कोरोना संक्रमितको उपचार गराइरहेका छन् । सरकारी अस्पतालमा भएका आईसीयू भरिँदा संक्रमितले महँगो धरौटी र उपचार खर्च बुझाएर निजी अस्पतालमा उपचार गराइरहेका छन् । बुधबारसम्म २ सरकारी अस्पतालमा १ सय १६ संक्रमित भर्ना भएका छन् । बाँकी ४ सय २७ जना पश्चिमाञ्चल सामुदायिक अस्पताल, मणिपाल, चरक मेमोरियल, गण्डकी मेडिकल कलेजम, मेडिप्लस, रिजनल अस्पताल, फेवासिटी, कास्की मोडेल अस्पताल, दीर्घायु अस्पताल, ग्यालेक्सी अस्पताल, फिस्टेनल अस्पताल, कास्की सेवा, मेट्रोसिटी, ओम अस्पताल, जनप्रिय अस्पताल, नमस्ते अस्पताल र सहारा अस्पतालमा छन् ।
चरक मेमोरियलमा आईसीयूमा राखेर उपचार गर्नुपरे डेढ लाख रुपैयाँ धरौटी बुझाउनुपर्छ । मेडिप्लस अस्पतालमा ५० हजार रुपैयाँ धरौटी, मणिपाल शिक्षण अस्पतालमा भेन्टिलेटरसहितको बेडलाई ९० हजार धरौटी, गण्डकी मेडिकल कलेजले आइसोलेसन बेडको दैनिक १५ हजार रुपैयाँ लिन्छ । अन्य निजी अस्पतालमा समेत यही दरमा शुल्क लिइन्छ ।
