संक्रमण रोक्न घरघरमा खोजी

जेष्ठ ७, २०७८

प्रकाश बराल

बागलुङ — केही दिनदेखि बडिगाड गाउँपालिकाले २ स्थानमा अस्थायी प्रहरी पोस्ट राखेर पालिकाको सिमानामा छिर्न कडाइ गरेको छ । गुल्मी, गलकोट र बुर्तिवाङ तर्फका नाका सिल गरेर आउजाउमा कडाइ गरिएको हो ।

विवाह भोजमा सरिक वडा ४ को झुलेडाँडाका एकाघरका चार जनाले ज्यान गुमाएपछि पालिका संक्रामक रोग नियन्त्रणमा जुरमुराएको हो । २ साताभित्र ३ जना छिमेकीको पनि कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

वडा ७ र ९ का एक एक जना गरी गाउँपालिकाभित्रै ९ जनाको ज्यान गएपछि पालिकाले संक्रमितको खोजी, उद्धारसहित उपचारलाई पनि तीव्र बनाएको स्वास्थ्य शाखा प्रमुख चूडामणि कँडेलले बताए । घरघरमा पुगेर संक्रमित खोजी गर्ने, संक्रमितलाई उपचारको पहुँचमा ल्याउने कामसमेत गरेको हो ।

‘अहिले घरघरमा संक्रमितको खोजी भइरहेको छ, सामान्य बिरामी भए पनि उपचार र पीसीआर गराउने काममा लागेका छौं,’ कँडेलले भने, ‘आउजाउ ठप्प पारेर खोजी गरिएकाले साता दिनमै संक्रमण नियन्त्रणमा आउने अपेक्षा छ ।’ झुलेडाँडामा दुई–तीन दिन बिराएर पीसीआर भइरहेको उनले बताए । यहाँ ६८ सक्रिय संक्रमित छन् ।

लक्षण देखिएका र अन्य बिरामी भए पनि उपचारको दायरामा ल्याइएको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताए । ‘अधिकांशको पीसीआर गराउने, सामान्य लक्षण देखिए तत्काल आइसोलेसनमा लैजाने काम भइरहेको छ,’ पाइजाले भने, ‘जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र स्वयंसेवकले रातदिन नभनी काम गरेर नियन्त्रणको प्रयास भइरहेको हो ।’ पालिकाले एक कोठामा एक जना मात्रै राख्ने गरी आइसोलेसन बनाएर संक्रमित राखेको बताए ।

यहाँको त्रिभुवन माविमा २० र वडा ५ को कराँते प्रशिक्षण केन्द्रमा १० अक्सिजनसहितको बेड सञ्चालनमा ल्याएर बिरामीको उपचार भइरहेको छ । जटिल समस्या आएमा धौलागिरि अस्पताल पठाइन्छ । शाखाले एक डाक्टर, १ हेल्थ असिस्टेन्ट, दुई नर्ससहितको जनशक्ति निरन्तर खटाएको छ । ग्वालीचौर हेल्थपोस्टमा नियमित बिरामीको उपचारसमेत भइरहेको हो । गाउँपालिकाले ३ एम्बुलेन्ससमेत तयारीमा राखेको छ । 

कोरोना भाइरस

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully