पाल्पामा आइतबार थप ४ जना कोरोना संक्रमितको मृत्यु

जेष्ठ २, २०७८

माधव अर्याल

पाल्पा — पाल्पा आइतबार दिनभर थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालहरु र होम आइसोलेसनमा उनीहरुको मृत्यु भएको हो । तीन जना पाल्पाका र एक जना कपिलवस्तुका संक्रमितको मृत्यु भएको हो ।

रामपुर अस्पतालको आइसोलेसनमा उपचाररत रामपुर नगरपालिका–७ की ४६ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओकप्रकाश पन्थीले जानकारी दिए । महिलाको लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचार भएको थियो । गत वैशाख २३ गते कोरोना पुष्टि भएको हो । होम आइसोलेसनमा फर्केकी महिलाको २५ गतेदेखि स्वास्थ्यमा समस्या आएर रामपुर अस्पतालको आइसोलेसनमा उपचार गराउँदै आएको रामपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विजय परियारले बताए । 

माथागढी गाउँपालिका–८ का ६१ वर्षीय पुरुषको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको छ । आइतबार बिहान स्वास्थ्यमा समस्या आएर सदरमुकामको अस्पतालमा ल्याउँदै गर्दा उनको सिद्धार्थ राजमार्ग अन्तर्गत खोरबारीमा मृत्यु भएको सूचना अधिकारी पन्थीले बताए । उनको शनिबार मात्र पोजेटिभ रिपोर्ट आएको थियो । 

तानसेन नगरपालिका–७ काजीपौवाकी ५९ वर्षीया महिलाको पनि आइतबार मृत्यु भएको छ । होम आइसोलेसनमा बस्दै आएकी महिलाको चार दिनअघि पोजेटिभ पुष्टि भएको वडाध्यक्ष मुक्तिराम जीसीले जानकारी दिए । उनको शव परिवारले आफै व्यवस्थापन गरेको उनले बताए । 

यस्तै, लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत कपिलवस्तु बाणगंगा नगरपालिका–८ की ६६ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयलले जनाएको छ । पाल्पाका ६७ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन । दोस्रो लहरसँगै होम आइसोलेसनमा मृत्यु हुनेको संख्या पनि बढेको छ । 

कोरोना भाइरस

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully