पोखरामा एकै दिन १७ कोरोना संक्रमितको मृत्यु

जेष्ठ २, २०७८

दीपक परियार

पोखरा — गएको २४ घण्टामा पोखराका विभिन्न अस्पतालमा उपचार गराइरहेका १७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । गण्डकी प्रदेशमा शनिबार र आइतबारसमेत गरी थप २८ संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा ज्यान गएको यो संख्या पोखरा र गण्डकीमा हालसम्मै उच्च हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका पोखरा–९ का ४२ वर्षीय पुरुष, स्याङ्जा वालिङ नगरपालिका–१३ की ५६ वर्षीया महिला, तनहुँ घिरिङ गाउँपालिका–३ का ५४ वर्षीय पुरुष, वालिङ–८ का ६२ वर्षीय पुरुष, पोखरा–१५ का ८७ वर्षीय पुरुष र पोखरा–१५ का ५६ वर्षीय पुरुषको मृत्यु भएको छ । 

पोखरा–९ की ४३ वर्षीया महिलाले मेडिप्लस अस्पताल, पोखरा–१४ का ८४ वर्षीय पुरुष, काठमाडौं महानगरपालिका–३० की ५३ वर्षीया महिला, पोखरा–१ की ४९ वर्षीया महिलाले चरक मेमोरियल अस्पताल, रुपन्देही तिलोत्तमा–१६ का ६० वर्षीय पुरुष र मुस्ताङका ३३ वर्षीय पुरुषले मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा ज्यान गुमाए । 

बागलुङ कालिखोला–५ की ५० वर्षीय महिला र वालिङ–१३ का ५५ वर्षीय पुरुष, वालिङ–१ की ४९ वर्षीया संक्रमित महिलाले गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गुमाए । बागलुङ बडिगाड गाउँपालिका–४ की ५४ वर्षीया महिलाको धौलागिरि अस्पताल बागलुङमा निधन भयो । लमजुङ दोर्दी गाउँपालिका–८ की ४६ वर्षीया महिलाको जिल्ला अस्पताल बेसीसहरमा निधन भयो । बेसीसहर नगरपालिका–७ का ५७ वर्षीय कोरोना संक्रमित पुरुष र पूर्वी नवलपरासी कावासोती–३ की ४३ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा निधन भयो ।

दाङ तुलसीपुर–६ का ५२ वर्षीय संक्रमित पुरुषले ग्यालेक्सी अस्पताल पोखरामा ज्यान गुमाए । पूर्वी नवलपरासी मध्यविन्दु–५ की ७० वर्षीय संक्रमित महिलाले जिल्लाको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गुमाइन् । म्याग्दीको बेनी नगरपालिका–४ का ५९ वर्षीय पुरुषको पोखरामा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचारका क्रममा निधन भयो । 

तनहुँ ब्यास नगरापालिका–१३ का ९१ वर्षीय कोरोना संक्रमित पुरुषको नेसनल एपोलो अस्पताल दमौलीमा उपचारका क्रममा निधन भयो । स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–२ की ८० वर्षीया महिलाले जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गुमाइन् । तनहुँ ब्यास नगरपालिका–४ की महिला र स्याङ्जा गल्याङ–४ का ८६ वर्षीय संक्रमित पुरुषले होम आइसोलेसनमा ज्यान गुमाए ।

प्रदेश स्वास्थ्य निर्देशनालयको अद्यावधिक विवरण अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ३ सय ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ५२ जनामा गरिएका परीक्षणमा ७ सय ७७ लाई कोरोना संक्रमण पुष्टि भएको छ । ४ सय ३१ लाई निको भएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या ८ हजार ३३ पुगेको छ । तीमध्ये ७ हजार ८ सय ३९ होम आइसोलेसनमा छन् । 

कोरोना भाइरस

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully