रुपन्देहीमा चितवनबाट १ सय ५० सिलिन्डर अक्सिजन ल्याइयो

वैशाख ३०, २०७८

अमृता अनमोल

बुटवल — प्राण वायू अक्सिजन अभावले अस्पतालमै बिरामीको उपचार रोकिएपछि रुपन्देहीमा विभिन्न स्थानबाट आपतकालीन अक्सिजन जुटाउन थालिएको छ । 

बिहीबार चितवनबाट १ सय ५० थान भरी अक्सिजन सिलिन्डर ल्याइएको छ । ती सबै सिलिन्डर भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा दिइएको रुपन्देहीका  प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । 

आईसीयूमै रहेका अस्पतालका बिरामीको पनि उपचार रोकिएपछि जिल्ला कोभिड व्यवस्थापन केन्द्रले चितवनका अक्सिजन उद्योगहरुसँग अक्सिजन दिन आग्रह गरेको थियो । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पताल एवं त्यसअन्तरगतको कोरोना विशेष अस्पताल , भीम अस्पताल भैरहवा , युनिर्भसल मेडिकल कलेज भैरहवा र क्रिमशन अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ । जटिल खालका बिरामीको उपचार रोकिन नदिन कास्की र विराटनगरबाट समेत अक्सिजन सिलिन्डर ल्याउने प्रयास भइरहेको प्रजिअ तामाङले बताए ।

उद्योगहरुको उत्पादन क्षमता घट्दै जाने तर अस्पतालमा बिरामी बढ्दै जाने गरेपछि रुपन्देहीमा अक्सिजनको चरम अभाव भएको छ । अभाव हटाउन आपतकालीन रुपमा बुधबार राति चितवन र सिमराबाट ४० सिलिन्डर अक्सिजन ल्याइएको थियो । ती बुटवलको कोरोना विशेष अस्पतालमा दिइएको थियो । अस्पतालमा अक्सिजन अभाव भएपछि अस्पतालहरुले आकस्मिक र एचडीयूमा उपचाररत बिरामीलाई आफैं अक्सिजन जोहो गर्न भनेका छन् । 

कोरोना खोपकोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully