बुटवल — लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गरेको रुपन्देहीको भैरहवास्थित भीम अस्पताललाई पूर्ण रुपमा कोभिड अस्पताल बनाइने भएको छ ।
त्यसका लागि अस्पतालमा अपुग भएका डाक्टर, नर्स लगायत सम्पूर्ण कर्मचारी प्रदेश सरकारले नै व्यवस्थापन गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री लीला गिरिले बताए ।
हाल भीम अस्पतालमा २२ बेडको एचडीयू र ५ बेडको आईसीयू कक्ष छ । अस्पतालमा कोभिडको मात्रै उपचार गर्दा ५० बेडको एचडीयू हुने छ । अस्पतालमा अन्य बिरामीका लागि इमरजन्सी युनिट मात्रै राख्ने र ती बिरामीलाई लुम्बिनी प्रादेशिक अस्पतालले रेखदेख गर्ने निर्णय गरेको मन्त्री गिरिले बताए ।
यस्तै मन्त्रालयले भारतीय नाका हुँदै आउने नेपाली नागरिकको स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टरमा राखी आ–आफ्नो जिल्ला एवं स्थानीय तहसम्म पुर्याउन १२ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई आर्थिक सहयोग गर्ने निर्णय भएको छ । जसमा ठूला सस्मा नाका भएका रुपन्देही र बाँके प्रशाशनले १०/१० लाख रुपैयाँ पाउने भएका छन् ।
कपिलवस्तुले ८ लाख र दाङ, बर्दिया र नवलपरासी पश्चिम ७ लाख पाउनेछन् । पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा र रुकुम पूर्वलाई ६ लाख रुपैयाँ दिने निर्णय भएको पनि मन्त्री गिरिले बताए । उक्त रकम प्रदेशको कोरोना रोकथाम तथा उपचार कोषबाट व्यवस्थापन हुने उनले बताए ।
