बाँकेमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु

वैशाख १८, २०७८

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा बढ्दै गइरहेको कोरोना संक्रमणसंगै  ज्यान गुमाउनेको संख्या पनि तीव्र रुपमा वृद्धि भइरहेको छ । शुक्रबार राति बाँकेका विभिन्न अस्पतालमा उपचाररत  ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका  अनुसार मृतकहरु बाँकेका ३, दाङका २ र कपिलवस्तुका १ जना रहेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ । वैशाख १६ गते भर्ना भएका उनको १७ गते साँझ ७ बजे पीसीआर गरिएको थियो । उनको त्यसअघि नै मृत्यु भइसकेको थियो ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का ४७ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा राति साढे ९ बजे मृत्यु भएको छ । वैशाख १५ गते भर्ना भएका उनको १६ गते पीसीआर गरिएको थियो ।

नेपालगन्ज मेडिकल कलेजमा कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नम्बर ५ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १५ गते मेडिकल कलेजमा भर्ना भएका उनको भोलिपल्ट पीसीआर गरिएको थियो। गएराति १० बजे उनको मृत्यु भएको हो । 

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख १३ गते पीसीआर गरेपछि १४ गते भेरीमा भर्ना भएका उनको शनिबार बिहानी ४ बजे मृत्यु भएको हो । 

त्यस्तै नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा कोहलपुर नगरपालिका वडा नम्बर ११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १० गते कोहलपुरमा भर्ना भएका उनको ११ गते पीसीआर परीक्षण गरिएको थियो ।  शुक्रबार राति उनको उपचारकै क्रममा मृत्यु भएको हो । त्यस्तै दाङ दंगीशरण गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय पुरुषको मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ ।

वैशाख ८ गते भर्ना भएका उनको ११ गते पीसीआर गरिएको थियो । उनको राति ४ बजे मृत्यु भएको हो । 

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully