अस्पतालहरुमा बेड र जनशक्ति थप गर्ने तयारीमा प्रदेश सरकार
रूपन्देही — लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा दोस्रो चरणको कोरोना संक्रमण बढेको छ । संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । अस्पतालका आईसीयू भरिएका छन् । बुटवलस्थित धागो कारखानामा रहेको अस्थायी कोरोना अस्पतालमा सोमबार मात्र तीन जनाको मृत्यु भएको छ । आइतबार एक जनाको मृत्यु भएको थियो ।
लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार सोमबार रूपन्देहीको तिलोत्तमा नगरपालिका–१ की ७१ वर्षीया महिला, कपिलवस्तुको वाणगंगा नगरपालिका–३ का ७१ वर्षीय पुरुष र अर्घाखाँचीको मालारानी गाउँपालिका–५ की ७९ वर्षीया महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये तिलोत्तमाकी महिला चैत २१ गतेदेखि ज्वरो, निमोनिया र श्वासप्रश्वासको समस्याले भर्ना भएर उपचाररत थिइन् । त्यस्तै कपिलवस्तु र अर्घाखाँचीका बिरामीमा ज्वरो, निमोनिया, मधुमेहलगायत समस्या देखिएका थिए । डा. गौतमका अनुसार पछिल्लो दुई सातामा बिरामी र मृत्यु हुनेको संख्या बढ्दै गएको छ । ‘लक्षण उस्तै छन्,’ उनले भने, ‘तर बिरामी अटेर गरेर अन्तिम अवस्थामा मात्र अस्पतालमा आएका छन्, त्यसले मृत्यु दर बढाएको छ ।’
अस्थायी कोरोना अस्पतालको तथ्यांकअनुसार आइतबार सुनवल नगरपालिका–५ पश्चिम नवलपरासीका ७९ वर्षीय पुरुषको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । चैत १६ गते प्यूठानकी एक महिलाको मृत्यु भएको थियो । लुम्बिनी प्रदेशमा असोजदेखि कोरोनाका कारण मृत्यु भएको थिएन तर कोरोनाको दोस्रो चरण सुरु भएसँगै चैतमा मात्र ९ जनाको मृत्यु भइसकेको छ । पहिलो र दोस्रो चरणमा गरेर १ सय २४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । लुम्बिनीका बुटवल, भैरहवा, दाङ, कोहलपुर, नेपालगन्जलगायत ठूला सहरमा बढी भीडभाड हुने गर्छ । नाकामा पनि बाक्लो आवतजावत हुने गर्छ तर त्यहाँ सुरक्षा सतर्कता भने फितलो छ । शुक्रबारसम्म प्रदेशभरिका कोरोना अस्पतालका आईसीयूमा १५ जना बिरामी थिए । सोमबारसम्म त्यो संख्या बढेर ३२ पुगेको छ । बुटवलस्थित अस्थायी कोरोना अस्पतालमा सोमबारसम्म नौ जना बिरामी आईसीयूमा रहेको अस्पतालका डा. गौतमले बताए । ‘आईसीयूमा नौ र जनरल वार्डमा चार जना बिरामी छन्,’ उनले भने, ‘आउने बिरामीको संख्या बढ्दो छ ।’
बुटवलको एक सामुदायिक विद्यालयका ११ जना शिक्षक र सिद्धार्थनगर भैरहवाको एक स्कुलका बालबालिकामा संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ । अन्य विद्यालयमा पनि कोरोना लक्षणसहितका बिरामी देखिन थालेका छन् । प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले लुम्बिनी प्रदेशमा आइतबार मात्र ५१ जनामा संक्रमण देखिएको बताए । रूपन्देहीमा मात्र २१ जना थपिएका छन् । ‘ठूला सहर र सीमा नाकामा कडाइ गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘हामीले कडाइ गरेकै छौं, बजारहरूमा पनि अब थप कडाइ गर्छौं ।’
उनले आवश्यक परेको अवस्थामा अस्पतालहरूमा बेड र जनशक्ति थप गर्ने पनि तयारी गरिएको बताए । सरकारले बुटवलको धागो कारखाना र भैरहवाको भीम अस्पताल, दाङको राप्ती स्वास्थ्य प्राविधिक शिक्षालय र बाँकेको भेरी अस्पताललाई कोरोना अस्पतालका रूपमा विकास गरेको छ । लुम्बिनी प्रदेशका कोरोना अस्पतालमा माघमा संक्रमितको अवस्था शून्यजस्तै बनेको थियो । फागुनमा फाट्टफुट्ट रूपमा देखिए पनि चैतमा एक्कासि संख्या बढिरहेको मन्त्रालयका सूचना अधिकारी डा. पुष्प पौडेलले बताए । बिरामी बढ्न थालेपछि उपकरण, जनशक्ति तयारी अवस्थामा राखिएको उनले बताए । ‘संक्रमितको ग्राफ बढ्दो छ,’ उनले भने, ‘प्रदेशका चारवटै अस्पताललाई तयारी अवस्थामै राखेका छौं ।’
परिवारका ५ जना संक्रमित
मोरङ– विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा सोमबार बिहान एक संक्रमितको मृत्यु भएको छ । झापाको दमक नगरपालिका–९ का ९२ वर्षीय पुरुषको मृत्यु भएको हो । मधुमेहका दीर्घरोगी उनलाई केन्द्रमा चैत २५ गते भर्ना गरिएको थियो । ‘मृतककी पत्नी र छोरा बुहारीसहित परिवारका ५ सदस्यमा संक्रमण देखिएको थियो,’ केन्द्रका निमित संयोजक एपोलोकुमार भगतले भने, ‘वृद्धको मृत्यु भएपछि केन्द्रमा भर्ना भएका बाँकी घरमै आइसोलेसन बस्ने भन्दै जबरजस्ती डिस्चार्ज भएर जानुभयो ।’
चैत दोस्रो सातादेखि प्रदेश १ मा संक्रमितको संख्या बढ्दै गएको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार सोमबार २५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये विराटनगर महानगरका ११, संखुवासभाको खाँदबारीका २, धर्मदेवीका १, सुनसरीको इनर्वा र धरानका २/२, दुहवी र इटहरीका १/१, झापाको दमकका १, भद्रपुरका २ र प्रदेशबाहिरका २ जना छन् । केन्द्रका निमित संयोजक भगतले अक्सिजन आवश्यक भएका संक्रमितलाई मात्रै उपचार गर्ने सरकारको नीति रहेको बताए ।
‘त्यसैले लक्षण नदेखिएका बिरामीहरूलाई होम आइसोलेसनमै बस्न आग्रह गरेका छौं,’ उनले भने । सामाजिक विकासमन्त्री उषाकला राईले केन्द्रमा ४ चिकित्सक र ४ जना नर्सिङ स्टाफलाई खटाएर तयारी अवस्थामा राखिएको बताइन् । केन्द्रको अनुगमनपछि तत्कालका लागि १८० बेड तयारी अवस्थामा राखिएको उनको भनाइ छ । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले प्रदेशमा संक्रमणको दर बढेको बताए । ‘चैत २० गतेपछि १० दिनको अवधिको संक्रमण दर बढेको छ,’ उनले भने, ‘देशव्यापी रूपमा संक्रमण वृद्धि भएको दरकै अनुपातमा यहाँ ७ प्रतिशत संक्रमण दर देखिन्छ ।’
बर्दियामा संक्रमित महिलाको मृत्यु
बर्दिया– गेरुवा गाउँपालिका–३ कि ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट सोमबार मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार २२ गते पीसीआर परीक्षण गर्दा उनमा २३ गते पोजिटिभ देखिएको थियो । उनी २५ गते भेरी अस्पताल नेपालगन्ज भर्ना भएकी थिइन् । एक वर्षयता कोरोनाबाट जिल्लामा २१ जनाको मृत्यु भइसकेको छ ।
भारतबाट फर्केका पुरुषको मृत्यु
धनगढी– एक महिनाअघि भारतबाट घर फर्केका कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा आइतबार बेलुका ८ बजेतिर भर्ना भएका उनको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । ‘श्वासप्रश्वासमा समस्या र कडाखाले निमोनिया भएका उनलाई गम्भीर अवस्थामा भर्ना गरिएको थियो,’ अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले भने । उनका अनुसार मृतकको कोरोना परीक्षण आइतबार राति नै गरिएको थियो । योसँगै कोरोनाकै कारण सेती प्रादेशिक अस्पतालमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । अहिले अस्पतालको आईसीयूमा दुई तथा भेन्टिलेटर र आइसोलेसनमा एक/एक गरी चार जना संक्रमतिको उपचार भइरहेको छ ।
