सिद्धार्थ राजमार्गको झुम्सादेखि सिद्धबाबासम्म दर्जनौं स्थानमा पहिरो

आश्विन १०, २०७७

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिकाका दर्जन बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । राजमार्गको तिनाउ गाउँपालिका–३ कदमबास, सिद्धबाबा, हेडबक्स, पैठेडाँडा, भूतखोला, सिसुवा, झुम्सा, पानीमिल लगायतका स्थानमा ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम भुसालले बताए ।

रातभरको अविरल वर्षासँगै पहिरो खसेको उनले बताए । तीन दिन अघिदेखिको अविरल वर्षाले पहिरो खसेको हो । सडक डिभिजनसँगको समन्वयमा दुईतर्फबाट डोजर लगाउन सुरु गरिएको छ । पहिरो ठूलो भएको र ठाउँठाउँमा पहिरो खसेकाले सडक खुलाउन समय लाग्ने उनले बताए । बेलुकी ४–५ बजेसम्म पहिरो पन्छाउन सकिने प्रहरीले बताएको छ । 

रातभर वर्षा भएपछि स्थानीय बासिन्दासमेत जाग्राम भएको स्थानीय विष्णुप्रसाद पाण्डेयले बताए । उनका अनुसार राजमार्ग छेउका अधिकांश घरका बासिन्दा वर्षा ठूलो भएकाले निदाउन सकेका छैनन् । पहिरो खसेपछि पहाडी क्षेत्रमा आउने सवारी साधन बुटवलतर्फ नै रोकिएको छ भने पहाडबाट तराई भरेका सवारी साधनलाई केराबारी, चर्चरे, जोरधारामा रोकिएको प्रहरीले जनाएको छ ।  

बाढी-पहिरो

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully