कालीमाटीमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध 

आश्विन ७, २०७७

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको कालीमाटीमा पहिरो खस्दा बुधबार बिहानदेखि यातायात अवरुद्ध भएको छ ।

तिनाउ गाउँपालिका–५, कालीमाटीमा ढुंगासहितको ठूलो पहिरो खसेको प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । उनका अनुसार सडक डिभिजनसँग समन्वय गरी सडक खुलाउने पहल भइरहको छ ।

तर मंगलबारदेखिको निरन्तर वर्षा नरोकिएकाले पहिरो पन्छाउन कठिनाई भएको प्रहरी चौकी प्रभासले जनाएको छ । सडक अवरुद्ध हुँदा रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट राजमार्ग हुँदै पहाडी जिल्लामा आउने र तराई जाने सवारी साधन रोकिएका छन् ।

मंगलबारदेखि सडकमा पहिरो खस्ने र सडक खुलाउने क्रम जारी छ । सिद्धबाबा, झुम्सा, चौबीसमाइल, कालीमाटी, गौडे पुललगायतका स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ । 

बाढी-पहिरो

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully