नेपालगन्ज — सोमबार बाँकेमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा कोरोना परीक्षणमा दुई जना ल्याब टेक्निसियनसहित २९ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २७ र बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टरमा गरिएको परीक्षणमा २ जना गरी सोमबार बाँकेका थप २९ जनामा कोरोना संक्रमण देखिएको हो ।
श्रेष्ठका अनुसार लामो समयदेखि भेरी अस्पतालको प्रयोगशालामा कोरोना परीक्षणमा दिनरात खटिएका दुई जना ल्याब टेक्निसियनलाई कोरोना देखिएको छ ।
योसहित बाँके जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ४ सय ६९ पुगेको छ । ८ जनाको कोरोनाकै कारण ज्यान गइसकेको छ भने १ हजार ३६ जना कोरोनामुक्त भएका छन् । जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा ४ सय २५ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
