सफ्टवेयरले काम नगरेपछि पीसीआर मेसिन फिर्ता पठाइयो

भाद्र १३, २०७७

वीरेन्द्र केसी

अर्घाखाँची — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गत साउन ३ गते हेलिकप्टरबाट गुल्मीको तम्घास ल्याएको पीसीआर मेसिनले काम नगरेपछि कम्पनीमै फिर्ता पठाइएको छ ।

जिल्लामा भएका ल्याब टेक्निसियनले मेसिन चलाउन नजानेपछि १५ दिनअघि संघीय स्वास्थ्य मन्त्रालयबाट प्राविधिक आएका थिए । दक्ष प्राविधिकले चलाउँदा समेत मेसिनको सफ्वेयरले काम नगरेपछि गत भदौ ७ गते मन्त्री ज्ञवालीका प्रमुख स्वकीय सचिव जंगबहादुर नेपालीले तम्घासबाट काठमाडौं लगेका हुन् । 

‘काठमाडौंबाट गएका दक्ष ल्याब टेक्निसियनले मेसिनका सबै सफ्वेयर छैनन्, रिपोर्ट सही निकाल्दैन भनेपछि हिमालय एयरलाइन्सलाई फिर्ता दिएको छु,’ नेपालीले भने । अहिले मेसिन उत्पादन गर्ने चिनियाँ कम्पनीसँग अनलाइनमा कुराकानी भएको उनले बताए । ‘धेरै जना ल्याब टेक्निसियनसँग कुराकानी भयो,’ उनले भने, ‘मेसिनमा किन सबै सफ्वेयर नभएको भन्दै छक्क परेका छन्, प्राविधिक कुरा भयो यतै बनेन भने ३ गते हिमालय एयरलाइन्सको जहाज चीन जाँदैछ, उसले आउँदा नयाँ मेसिन ल्याउने आश्वासन दिएको छ ।’ 

स्वास्थ्यजस्तो संवेदनशील र कोरोनाजस्तो रोगको गलत रिपोर्ट नआओस् भनेर फिर्ता ल्याइएको उनले बताए । यही मेसिनमा थप सफ्टवेयर हालेर वा नयाँ मेसिन ल्याएर भए पनि तम्घासमा छिट्टै पीसीआर मेसिन लैजाने उनले बताए ।

मन्त्री ज्ञवालीले रेसुंगा नगरपालिकालाई सञ्चालन गर्न नगर प्रमुख डिल्लीराज भुसाललाई मेसिन हस्तान्तरण गरेका थिए । ‘थप २२ वटा उपकरण किन्न स्थानीय तहसँग समन्यव गरेर पैसा संकलन गर्ने तयारीमा थियौं,’ नगर प्रमुख भुसालले भने, ‘तर, मेसिनमा सफ्टवेयर नभएपछि मन्त्री ज्ञवालीलाई फोन गरेर फिर्ता लैजान भनेको हुँ ।’ सफ्टवेयर नै नभएपछि त्यो मेसिन चीन फिर्ता पठाउने र अर्काे नयाँ मेसिन ल्याइदिने हिमालय कम्पनीले वचन दिएको मन्त्री ज्ञवालीले जानकारी गराएको भुसालले बताए । 

जिल्लामै कोरोना संक्रमणको पीसीआर परीक्षणका लागि मन्त्री ज्ञवालीले मेसिन उपलब्ध गराएका हुन् । ‘तर, उपकरण आधा भएपछि मेसिन चल्ने कुरै भएन,’ तम्घास अस्पताल प्रमुख उत्तम पाच्यले भने, ‘काठमाडौंबाट आएको प्राविधिक टोलीले उपकरण पूरा नभएको पत्ता लगाएको हो ।’ 

जिल्लाका १२ स्थानीय तहले मेसिन सञ्चालन गर्न गाउँपालिकाले ५ लाख र नगरपालिकाले १० लाख रुपैयाँका दरले संकलन गर्ने निर्णय गरेका थिए ।

कोरोना भाइरस

वीरेन्द्र

Link copied successfully