कपिलवस्तुमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

भाद्र ४, २०७७

मनोज पौडेल

कपिलवस्तु — बिहीबार थप २४ जनामा संक्रमण देखिएसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १ हजार ६ पुगेको छ ।

जिल्लामा वैशाख २५ गते मायादेवी गाउँपालिकाका २ जना युवालाई पहिलो पटक संक्रमित भएको ५ महिनापछि यहाँ संक्रमितको संख्या ४ अंकमा पुगेको हो ।

बिहीबार जिल्लाको प्रमुख व्यापारिक केन्द्र कृष्णनगर र पुरानो सदरमुकाम बहादुरगंज बजारका २४ जनामा कोरोना पुष्टि भएको हो । 

‘समुदायमै संक्रमण गएको देखिन्छ,’ कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप शाहले भने, ‘सतर्कता अपनाएर अघि बढछौं । नभए भयावह अवस्था आउँछ ।’

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या भने २ सय ४ छ । कोरोनाबाट हालसम्म जिल्लामा २ जनाको मृत्यु भइसकेको छ । 

समुदायमै संक्रमण फैलिएपछि दोस्रो पटक लकडाउन थपेर कपलवस्तुमा भदौ ७ गतेसम्म गरिएको छ । प्रदेश ५ मा सबैभन्दा बढी कोरोना संक्रमित कपिलवस्तुमा छन् । 

कोरोना भाइरस

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully