सिद्धार्थ राजमार्गको गौडेपुलनजिक पहिरो, यातायात अवरुद्ध

श्रावण २, २०७७

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन-बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै निरन्तर पहिरो खस्दा शुक्रबार बिहानैदेखि यातायात अवरुद्ध भएको छ ।

राजमार्गको डुम्रे गौडेपुल नजिकैको भीरबाट बिहानैदेखि निरन्तर पहिरो खसिरहेको छ । पहिरो खसेपछि राजमार्गमा सवारी साधन ओहोरदोहोर गर्न नपाएको प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

ढुंगासहितको पहिरो निरन्तर खसेको र पहिरो खस्ने क्रम नरोकिएकाले सवारी साधन डुम्रे र चर्चरेतर्फ नै रोकिएको प्रभास प्रहरी चौकी प्रमुख एक्काबहादुर नेपालीले जानकारी दिए । निरन्तर वर्षा भएकाले पहिरो खुलाउन नसकिएको उनले बताए । राजमार्गको डुम्रेमा सडकदेखि करिब २ सय मिटर माथिबाट ढुंगाहरु खस्ने क्रम रोकिएको छैन ।

त्यस्तै सिद्धार्थ राजमार्गअन्तगर्त दोभान बजार नजिकै पैठेडाँडामा लेदोसहितको पहिरो खसेको छ । दोभान प्रहरी चौकी प्रमुख सोमबहादुर सारु मगरका अनुसार वर्षा रोकिएपछि सडक खुलाइने छ । दोभानमा पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएका कारण पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।

तीन दिनअघि पनि सोही ठाउँमा पहिरो खसेर तीन दिनसम्म राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध भएसँगै पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा तथा तराईका जिल्लाहरुबाट यात्रा गर्नेहरु बाटोमै अलपत्र परेका छन् ।

बाढी-पहिरो

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully