काठमाडौँ — ललितपुर महानगरपालिकामा १३ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले यहाँका २९ वडामध्ये वडा नं. १ देखि १२ सम्म सबै र वडा नं. १४ को अन्तिम परिणाम सार्वजनिक गरेको हो । तीमध्ये एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने नेपाली कांग्रेसले आठ, नेकपा एमालेले दुई र नेकपा एकीकृत समाजवादीले दुई वडाध्यक्ष जितेका छन् ।
मेयरमा भने नेपाली कांग्रेसका चिरिबाबु महर्जनले फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन् । महर्जनले २१ हजार ३११ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १२ हजार १४९ मत ल्याएका छन् ।
सार्वजनिक भएको परिणामअनुसार वडा नं. १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका छन् । उनले नेपाली कांग्रेसका ध्रुबलाल तण्डुकारलाई पराजित गरेका हुन् । निर्मलले ६६१ मत पाए भने कांग्रेसका ध्रुबलालले ४२५ मत पाए । नेकपा एमालेका दिनेश तण्डुकारले ३५१ मत ल्याए । सदस्यहरुमा भने नेपाली कांग्रेसका कृष्ण महर्जन, हरिहर तण्डुकार र अञ्जना कार्की निर्वाचित भएका छन् ।
वडा नं. २ को अध्यक्षमा नेकपा एकिकृत समाजवादीका राजेशकुमार महर्जन विजयी भए । उनले नेकपा एमालेका पुरुषोत्तम थापा र कांग्रेसका विनयप्रसाद जोशीलाई पराजित गरेका हुन् ।
वडाध्यक्षमा निर्वाचित समाजवादीका महर्जनले १८३० मत ल्याए भने एमालेका थापाले ६०४ र कांग्रेसका जोशीले ५६० मत पाएका छन् । यहाँ वडासदस्य पदमा समाजवादीका अलिसा डंगोल, अनिता पाण्डे र सुजिता नेपाली तथा एमालेका पूर्ण महर्जन निर्वाचित भए ।
वडा नं. ३ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका श्रीगोपाल महर्जन निर्वाचित भए । उनले कांग्रेसका बालकृष्ण महर्जन र एमालेका अष्टबहादुर महर्जनलाई पराजित गरेका हुन् । श्रीगोपालले १५२५ मत प्राप्त गर्दा कांग्रेसका बालकृष्णले ८४२ र एमालेका अष्टबहादुरले ३८६ मत पाएका छन् ।
यो वडामा समाजवादीको प्यानलै निर्वाचित भएको छ । सदस्यहरुमा गणेशकुमार रजक, रुपेश थापा, मिलन महर्जन र रुञ्जु तोलाङ्गी निर्वाचित भएका छन् ।
वडा नं. ४ को अध्यक्षमा नेपाली कांग्रेसका सन्तोष खड्का निर्वाचित भएका छन् । खड्काले एमालेका नारायण केसीलाई पराजित गरे । खड्काले १५६२ मत प्राप्त गर्दा केसीले १३६९ मत ल्याए । यो वडामा कांग्रेसका तीन सदस्य र एमालेका एक जना निर्वाचित भए । सदस्यहरुमा एमालेका कृष्णहरि थापा तथा कांग्रेसका सुनिलकुमार राना, श्रद्धा थापामगर र मुना मंग्राती निर्वाचित भएका छन् ।
वडा नं. ५ को अध्यक्षमा एमालेका विकासमान श्रेष्ठ निर्वाचित भएका छन् । उनले कांग्रेसका सन्जीव पाण्डेलाई पराजित गरे । श्रेष्ठले १०७९ मत प्राप्त गर्दा पाण्डेले ५९२ मत ल्याएका थिए । यो वडामा एमालेको प्यानलै विजयी भएको छ । सदस्यहरुमा पुनम निरौला, अशोककुमार श्रेष्ठ, शोभादेवी प्रधान र मञ्जु रिमाल निर्वाचित भएका छन् ।
वडा नं. ६ को अध्यक्षमा कांग्रेसका रुपेन्द्रराज शाक्य निर्वाचित भए । उनले एमालेका यशकुमार शाक्यलाई पराजित गरेका हुन् । रुपेन्द्रराजले १३१८ मत प्राप्त गर्दा एमालेका यशकुमारले ५७६ मत पाएका छन् । यो वडामा कांग्रेसले प्यानलै जितेको छ । सदस्यहरुमा सुनिल शाक्य, सुमन महर्जन र उमा बज्राचार्य निर्वाचित भएका छन् ।
वडा नं. ७ मा कांग्रेसका कुलबहादुर महर्जनको प्यानलै निर्वाचित भएको छ । कुलबहादुरले एमालेका सुरेन्द्र महर्जनलाई पराजित गरेका हुन् । कुलबहादुरले २१७० मत प्राप्त गरे भने एमालेका सुरेन्द्रले ५८९ मत पाए । वडा सदस्यमा देवेन्द्र शाक्य, देवेन्द्र महर्जन र शान्ति महर्जन निर्वाचित भएका छन् ।
वडा नं. ८ को अध्यक्षमा कांग्रेसका बाबुरत्न महर्जन निर्वाचित भए । उनले १५१६ मत पाए । उनका निकटत प्रतिद्वन्द्वी नेकपा एमालेका राजमान महर्जनले १२२२ मत पाए । यहाँ वडा सदस्यमा कांग्रेसका पुनाल महर्जन, विमला महर्जन र लक्ष्मी महर्जन निर्वाचित भए ।
वडा नं. ९ को अध्यक्षमा कांग्रेसका राजु महर्जन निर्वाचित भए । उनले २५०७ मत पाए भने उनका निकटत प्रतिद्वन्द्वी नेकपा एमालेका सुनिल महर्जनले १२५५ मत प्राप्त गरे । यहाँ वडा सदस्यमा कांग्रेसका राजु महर्जन, हेराकाजी व्यञ्जनकार, अमिर महर्जन, सानु महर्जन र सृजना भुजेल निर्वाचित भएका छन् ।
वडा नं. १० को अध्यक्षतामा कांग्रेसका रविनमान व्यञ्जनकार निर्वाचित भए । उनले ८२५ मत पाए भने उनका निकटत प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकारले ५४३ मत पाएका छन् । वडा सदस्यमा कांग्रेसका अरविन्द्र सिंह, बाबुराम महर्जन, लक्ष्मी शर्मा र तुल्सी परियार निर्वाचित भएका छन् ।
वडा नं. ११ को अध्यक्षमा कांग्रेसको अरोजकुमार खड्गी ७०१ मत सहित निर्वाचित भए । उनका निकटत प्रतिद्वन्द्वी एकीकृत समाजवादीका सुविन शाक्यले ६८४ मत ल्याए । वडा सदस्यमा एमालेका कृष्ण महर्जन, आपुलु शाक्य र कांग्रेसका जुबन तण्डुकार निर्वाचित भए ।
वडा नं. १२ को अध्यक्षमा एमालेका नारायणलाल अवालेले २ हजार २ मत ल्याएर विजयी भए । उनका निकटत प्रतिद्वन्द्वी कांग्रेसका सुनिल शाक्यले ११९९ मत पाए । वडा सदस्यमा एमालेका जीवनगोविन्द वैद्य, सानु अवाले र सरिता महर्जन निर्वाचित भए ।
वडा नं. १४ को अध्यक्षमा कांग्रेसका अमृतजंग महत निर्वाचित भए । उनले १२८१ मत पाए । यहाँ एमालेका नौराज राईले ९७० मत पाएका थिए । यहाँ वडा सदस्यमा कांग्रेसका कुवेर केसी, एमालेका सनत कार्की, शहनसिला कार्की र संगीता अछामी निर्वाचित भएका छन् ।
