चितवन — रत्ननगर नगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका प्रह्लाद सापकोटा विजयी भएका छन् ।उपमेयरमा भने एमालेका उम्मेदवार यादव पाठक विजयी भएका छन् ।
सापकाटोले एमाले उम्मेदवार विमला दुवाडी र पाठकले सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार बद्रीनाथ घिमिरेलाई पराजित गरेका छन् ।
निर्वाचन आयोगका अनुसार मेयरमा विजयी नेपाली कांग्रेसका सापकोटाले २० हजार ७९६ मत ल्याउँदा एमाले उम्मेदवार दुवाडीको १२ हजार ७२८ मत आयो । त्यसैगरी उपमेयरमा विजयी एमालेका पाठकले १३ हजार ५१४ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका घिमिरेको १२ हजार ३५४ मत आएको छ । रत्ननगरमा कुल १६ वडाहरु रहेका छन् । जसमध्ये नौवटा वडाहरुमा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ ।
त्यसैगरी एमालेले पाँच, माओवादी केन्द्रले एक र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् । सात स्थानीय तह रहेको चितवनमा अब भरतपुर महानगरपालिका र राप्ती नगरपालिकाको मात्रै मतगणना जारी छ । एमालेले दुईवटा स्थ्नानीय तहमा प्रमुख उपप्रमुख दुवै जितेको छ ।
एउटामा प्रमुख मात्र जितेको छ भने दुई वटामा उपप्रमुख जितेको छ । कांग्रेसले अहिलेसम्म दुई वटामा प्रमुख मात्र र एउटामा उपप्रमुख मात्र जितेको छ ।
