रौतहटको राजपुर नगरपालिकाको मेयरमा अफताब आलमका छोरा राजिक विजयी

शिव पुरी

रौतहट — रौतहटको राजपुर नगरपालिकाको मेयरमा कांग्रेसका मोहम्मद राजिक आलम विजयी भएका छन् । उनी जसपाका मोहम्मद जैद आलमलाई २ हजार ५ सय ७४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

रौतहटको राजपुर नगरपालिकाको मेयरमा अफताब आलमका छोरा राजिक विजयी

आलमले ६ हजार ३ सय ३५ मत पाउँदा मोहम्मद जैदले ३ हजार ७ सय ५१ मत पाए । राजपुरसँगै कांग्रेसले अहिलेसम्म रौतहटमा दुई पालिका जितेको छ ।

निर्वाचन अधिकृतको कार्यालय राजपुरका अनुसार उपप्रमुखमा कांग्रेसकै जमिला असगरी ६ हजार २ सय ६८ मत ल्याई विजयी भइन् । असगरीले जसपाका चिन्ताकुमार कलवारलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गरिन् । कलवारले ३ हजार ६ सय २९ मत पाए ।

राजिक चिकित्सकसमेत हुन् । उनी २०६४ को संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा बम बनाइरहेका बेला विस्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा हालेर ज्यान लिएको अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका सांसद मो. अफताब आलमका कान्छा छोरा हुन् । आलमकै विरासत रहेको राजपुरमा राजिकले ‘लोकप्रिय’ मत पाएर जितेका हुन् । उनको प्रतिस्पर्धामा रहेका मोहम्मद जैद आलमका आफ्नै भान्जा स्वर्गीय मुस्ताक राजाका छोरा हुन् ।

राजिकका काका हजुरबुबा शेख इद्रिसले रौतहटबाट २०४८ र २०५१ को चुनाव जितेका थिए । २०५३ सालमा उनको मृत्युपछिको उपनिर्वाचनमा अफताब आलम निर्वाचित भए । २०६४ र २०७४ को चुनाव जितेका आलम मन्त्री पनि बने । तर फौजदारी मुद्दा चलाइएपछि उनी प्रतिनिधिसभा सदस्यबाट निलम्बित छन् ।

निर्वाचन कार्यालयका अनुसार ९ वडा रहेको राजपुरमा कांग्रेसले ४, ६ र ८ नम्बर वडा मात्र जितेको छ । माओवादीले १ र ९, जसपाले ३ र ७ नम्बर वडा जितेको छ । त्यस्तै एकीकृत समाजबादीले २ र एमालेले ५ नम्बर वडा जितेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : जेष्ठ ६, २०७९ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?