२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

आलमको विरासत धान्ने घोषणासहित छोरा चुनावमा

बहालवाला नगर प्रमुख सकिल मियाँलाई पन्छाएर आलमका २७ वर्षीय छोरा डा. राजिक आलमलाई राजपुरमा मेयरको टिकट
बीपी र गणेशमानका भन्दा ठूला तस्बिर अफताब आलमका राखेर रौतहटको राजपुर र छिमेकी पालिकामा पनि चुनाव प्रचार

फरहदवा, रौतहट — चिकित्सा शिक्षामा स्नातक (एमबीबीएस) सकेर भारतको नयाँदिल्लीमा काम गरिरहेका २७ वर्षीय मो. राजिक आलम रौतहटको राजपुर नगरपालिका प्रमुखमा उम्मेदवार बनेका छन् । कांग्रेसले बहालवाला मेयरलाई पन्छाएर राजिकलाई टिकट दिएको छ तर उनको परिचय यतिमा सीमित छैन ।

आलमको विरासत धान्ने घोषणासहित छोरा चुनावमा

उनी २०६४ को संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा बम बनाइरहेका बेला विस्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा हालेर ज्यान लिएको अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका सांसद मो. अफताब आलमका कान्छा छोरा हुन् । राजिक भन्छन्, ‘मेरो परिचयमा बुबालाई छुटाउन मिल्दैन । हजुरबुबादेखिको पारिवारिक विरासत थाम्न बुबाको पदचाप पछ्याउँदै राजनीतिमा आएको छु ।’

राजिकका काका हजुरबुबा शेख इद्रिसले रौतहटबाट २०४८ र २०५१ को चुनाव जितेका थिए । २०५३ सालमा उनको मृत्युपछिको उपनिर्वाचनमा अफताब आलम निर्वाचित भए । २०६४ र २०७४ को चुनाव जितेका आलम मन्त्री पनि बने । तर फौजदारी मुद्दा चलाइएपछि उनी प्रतिनिधिसभा सदस्यबाट निलम्बित छन् ।

संविधानसभा निर्वाचनको अघिल्लो साँझ २०६४ चैत २७ मा विस्फोट भएको थियो । कांग्रेसका तत्कालीन जिल्ला सभापति अफताबले चुनावमा कब्जा गर्न बम बनाउन लगाएको र विस्फोट ढाकछोप गर्न घाइतेलाई जलाएको अभियोग छ । उक्त घटनामा श्रीनारायण सिंहका छोरा २२ वर्षीय पिन्टु भनिने त्रिलोकप्रताप र २३ वर्षीय वसी अख्तर मियाँ मारिएको भनेर परिवारजनले नै बयान दिएका थिए । अरू २१ जना भारतीय नागरिक मारिएको आशंका छ तर उनीहरूको नाम, ठेगाना खुलेको छैन । राजिक भने आफ्ना बाबुमाथि लागेका अभियोगलाई परिवारविरुद्धको षड्यन्त्र भन्छन् । ‘हामीमाथि षड्यन्त्र भएको हो तर म र परिवारप्रति नगरवासीको विश्वास छ । कांग्रेस नेताका रूपमा बुबाले सिंगो जिल्लालाई नेतृत्व दिनुभएको थियो । यो नगरपालिकालाई नमुना बनाउन नगरवासीले मलाई नेतृत्वको अवसर दिनु हुनेछ भन्ने विश्वास छ,’ उनले कान्तिपुरसँग भने ।

राजपुरको मेयरमा यसअघि कांग्रेसका सकिल मियाँले जितेका थिए । राजिककै काका सकिल यस पटक पनि आकांक्षी थिए । तर पार्टीले पन्छाएपछि उनी एमालेमा प्रवेश गरेका थिए । एमालेले उनलाई मेयरको टिकट पनि दिएको थियो तर वडाध्यक्षका उम्मेदवार छान्न नपाएको भन्दै उनले चुनाव नलड्ने घोषणा गरेका छन् । सकिलका भाइ शेख वकिल माओवादी केन्द्रबाट उम्मेदवार बनेका छन् ।

चुनावी छलफलमा स्थानीय ।

अफताबका भाइ महताब पक्राउ नपरेका भए सम्भवतः उनी पनि प्रमुख दाबेदार थिए । तर १२ वर्षअघिको विस्फोटकै घटनामा फरार रहेका महताब २०७७ मंसिरमा पक्राउ परेपछि कारागारमा छन् । दाजु अफताब ललितपुरको नख्खु कारागारमा छन् भने भाइ महताब रौतहटकै गौर कारागारमा । दाजुभाइमाथि ज्यान मुद्दा, ज्यान मार्ने उद्योगको मुद्दा र विस्फोटक पदार्थमा समेत गरी तीनवटा मुद्दा लगाइएको छ ।

जियालाल यादव

मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्म न्यायिक हिरासतमा राख्न रौतहट जिल्ला अदालतले २०७६ कात्तिक २९ मा दिएको आदेशलाई जनकपुर उच्च अदालतको वीरगन्ज इजलासले पनि निरन्तरता दिएपछि अफताब सर्वोच्च पुगेका छन् ।

शेख मोनताहा

साधारण तारिखमा बसेर मुद्दाको प्रतिरक्षा गर्न पाउनुपर्ने माग गरी आलमले दिएको निवेदन डेढ वर्षसम्म सर्वोच्चबाट टुंगो लागेको छैन । गत मंसिर १५ बाट सर्वोच्चमा गोला प्रक्रियाबाट पेसी तोकिनुअघिसम्म आलमले अनुकूल न्यायाधीश नपरेसम्म मुद्दामा सुनुवाइ नगर्ने रणनीतिअनुरूप आफैं मुद्दा स्थगन गराउँदै आएको आरोप छ । अदालतले कैफियत प्रतिवेदन झिकाउने आदेश गरिसकेपछि पनि अफताबकै वकिलले पाँच पटकसम्म सुनुवाइ स्थगन गरााएका थिए । गत वैशाख २ देखि भने न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीले सुनुवाइ थालेका छन् । पछिल्लो पटक वैशाख १६ मा भएको सुनुवाइ नसकिएपछि वैशाख २३ मा अर्को पेसी तोकिएको छ ।

मोहम्मद मजहार आलम

प्रधानमन्त्री हुनुअघि कांग्रेस सभापति शेरबहादुर देउवाले अफताब आलमलाई राजनीतिक रूपमा फसाइएको बताएका थिए । अफताब पुर्पक्षका लागि थुनामै रहेका बखत २०७७ फागुन १९ मा रौतहटको गढीमाई नगरपालिका–६ धरमपुर, सिंगारवनमा विष्णु पुराण महायज्ञको आरम्भ गर्दै देउवाले भनेका थिए, ‘अफताब जेलमा हुनुहुन्छ, उहाँलाई पुरानो झूटो मुद्दामा फसाइएको छ, छुटाउनका लागि म आफ्नोतर्फबाट लाग्नेछु ।’ बम विस्फोट हुँदाका बखत गृहमन्त्री रहेका कांग्रेस नेता कृष्ण सिटौलाले पनि आलमलाई फसाइएको भन्दै उनको पक्राउको विरोध गरेका थिए ।

प्रेम साह

कांग्रेस सभापति देउवा र अन्य नेताले विगतमा सार्वजनिक गरेका यस्ता प्रतिक्रियाका कारण आफ्ना बाबुलाई जेलबाट छुटाउन अहिलेको सरकारले अग्रसरता लिने आशा राखेको राजिकको भनाइ छ । ‘उहाँहरूले पहल गर्ने सम्भावना छ । विगतको सरकारले फसाएको हो भनेर अहिलेको सरकारले गम्भीर रूपले लिएको देख्छु । प्रधानमन्त्री, गृहमन्त्रीले पनि आश्वस्त पार्नुभएको छ । सरकारले निकास दिन्छ भन्ने विश्वास छ,’ उनी भन्छन् ।

शेख जोबाय

चुनाव प्रभावित गर्न बम बनाउन लगाएको र विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका आलमको व्यक्तित्वलाई उनका छोरा मात्र होइन, उनको दल कांग्रेसले भने लोकतन्त्रवादी मसिहाका रूपमा प्रस्तुत गरेका छन् । राजपुर तथा छिमेकी यमुनामाईलगायत नगरपालिकामा अफताब आलमको तस्बिर राखेर चुनाव प्रचार सामग्री बनाइएको छ । टोल–टोलमा टाँसिएका/टाँगिएका कांग्रेसका पम्प्लेट र ब्यानरमा उम्मेदवारले आफ्नो तस्बिरको माथिपट्टि ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ को नारा लेख्दै छेउमै कांग्रेसका संस्थापक नेता बीपी र गणेशमानको भन्दा ठूलो तस्बिर आलमको तस्बिर राखेका छन् । राजिकले आफ्ना चुनाव प्रचार सामग्रीमा हजुरबुबा शेख इद्रिस तथा बुबा अफताब र काका महताबको तस्बिर राखेका छन् । त्यस्तै यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीराम राय यादवले पनि अफताब आलम र कांग्रेसका प्रदेश सभापति कृष्ण यादवका तस्बिर राखेर प्रचार सामग्री बनाएका छन् ।

सुरेशप्रसाद यादव

राजपुरमा २३ हजार ६ सय ७३ मतदाता छन् । गत चुनावमा नगरका ९ वटा वडामध्ये कांग्रेसले प्रमुख, उपप्रमुखसहित ६ वडा जितेको थियो । बाँकी तीन वडामा तत्कालीन फोरम लोकतान्त्रिक (हाल कांग्रेसमा विलय), माओवादी केन्द्र र जनशक्ति पार्टीले जितेका थिए । यी सबै वडा र नगरपालिका नै भ्रष्टाचारको केन्द्रका रूपमा रहेको स्थानीय बताउँछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासमा यो नगरपालिकाका मात्रै १ सय २३ वटा उजुरी परेका छन् ।


मञ्जर आलम

राजपुर–५ का सुरेशप्रसाद यादव नेताहरूले टोल–टोलमा पुगेर भोट किन्न अगुवालाई पैसा बाँड्ने र निर्वाचित भएपछि त्यही असुल्न लाग्ने गरेको आरोप लगाए । त्यही गाउँका जियालाल यादव भोट माग्न आफूहरूकामा कहिल्यै कोही नेता नआउने गरेको बताउँछन् । ‘कुनै पार्टीका उम्मेदवार पनि आउन्नन् । गाउँका एक–दुई जनालाई पैसा बाँडेर सबैको भोट किन्छन्,’ भन्छन्, ‘गाउँमा बाटो छैन । खेतीमा हाल्ने मल पाइएको छैन । नालीको निकास छैन । घर र खेत सबै डुबानमा पर्छ । गाउँका स्कुलमा शिक्षक छैनन् । भोट माग्न आए सबै समस्या भन्न पाइन्थ्यो । आउँदै आउन्नन् ।’


राजपुरकै प्रेम साहले सडक र नालाका लागि छुट्याइएको बजेट नगरपालिकाका पदाधिकारीले अन्तै खर्च गर्ने गरेको बताए । ‘नेताहरूले सुरुमा पैसाले भोट किन्न प्रयास गर्छन् । त्यसरी जित्ने ग्यारेन्टी नभए बम गोला पड्काउँछन् । तर जनताका समस्यामा मतलव गर्दैनन्,’ उनले भने, ‘भ्रष्ट व्यक्तिले पालिका हाँकिरहेका छन् । जनताले केही पाएका छैनौं ।’ अर्का स्थानीय शेख मोनताहले जनप्रतिनिधिले घर–घडेरी जोड्नुलाई नै पालिकामा पाँच वर्षमा भएको विकास भन्नुपर्ने अवस्था आएको बताए ।

अर्का स्थानीय मो. मजहर आलमले आफूहरूले सिँचाइ, पशुपन्छी, माछापालन र मलमा पालिकाबाट सहयोग चाहेको बताए । ‘स्कुल छन् तर शिक्षक छैनन् । स्वास्थ्य चौकी छन् तर डाक्टर छैनन् । अहिलेसम्म केही गरेनन् अब आउनेले यसमा काम गर्नुपर्छ,’ उनले भने । वडा ५ कै शेख जोबय ‘नेताहरूले जनतालाई कस्तो विकास चाहिन्छ भनेर नसोध्ने बरु फ्रुटी, चिया, मोबाइलको रिजार्च कार्ड वा बाइकमा पेट्रोल कति चाहिन्छ भन्ने र त्यसबापत पैसा दिँदै हिँड्ने गरेको’ सुनाउँछन् ।

...

बुबाको प्रेरणाले राजनीतिमा आएको छु : डा. राजिक आलम‚ मेयर उम्मेदवार

राजनीतिमा किन आउनुभयो ?
मेरो परिचयमा बुबालाई छुटाउन मिल्दैन । हाम्रो परिवारविरुद्ध षड्यन्त्र गरेर बुबा र काकालाई जेलमा हालिएको छ । हजुरबुबादेखिको पारिवारिक विरासत थाम्न बुबाको पदचाप पछ्याउँदै राजनीतिमा आएको छु । जनताको विश्वास पनि छ ।

तर तपाईंका बुबा अफताब र काका महताब आलममाथि संगीन आरोप लागेका छन्, तपाईंले बुबाकै पदचाप पछ्याउने भन्दै हुनुहुन्छ, त्यो के भनेको हो ?
उहाँमाथि ठूलो अन्याय भएको छ । १४ वर्ष पहिलेको घटनामा बुबालाई पक्राउ गरेर जेलमा राखिएको छ । पहिले तीनै तहका सरकारी वकिलले प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेका थिए । त्यति बेला प्रमाण संकलनमा गलत गरिएको थियो भन्ने हो भने त्यसमा संलग्नलाई किन मुद्दा चलाइएन ? अहिले आएर के नयाँ प्रमाण पाइयो ? बुबाको पक्राउविरुद्ध आन्दोलनमा जान खोजेका गाउँका मानिसलाई तिमीहरूलाई पनि मुद्दा लगाउँछु भनेर धम्क्याइयो । विपक्षी दलका नेताहरू एसपीको कार्यालयमा बसेर षड्यन्त्र गरे । त्यसविरुद्ध बोल्छु भनेको छु । यहाँ त स्वतन्त्रपूर्वक निर्वाचन हुँदैन, बुथ कब्जा हुन्छ, जनतालाई भोट हाल्न दिइन्न, केही अगुवालाई पैसा दिएर किनिन्छ भनेर सर्वसाधारणले हामीसँगै भनेका छन् नि ।

यस्ता कुरा तर्कसंगत देख्दिनँ । मेरो हजुरबुबा शेख इद्रिस २०४८ सालमा एमालेका विष्णु मानन्धरसँग लड्दा मानन्धरको १४ हजार मत थियो । २०५१ मा हजुरबुबाविरुद्ध लडेका अर्का उम्मेदवारले ८ हजार मत ल्याएका थिए । २०५३ मा मेरो बुबाका निकटतम प्रतिद्वन्द्वीको मत १७ हजार थियो । हामीले कब्जा गरेको भए उनीहरूलाई त्यस्तो हजारौं मत कहाँबाट पर्थ्यो ? कहीँकतै बुथ क्याप्चर हुँदैन । मतदान भनेको मन दान हो । कसैले धम्क्याएर, लोभ्याएर मत आउँदैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आलमलाई फसाइएको छ, मुद्दा फिर्ता गर्नुपर्छ भन्नुभएको थियो । अहिले उहाँ नै प्रधानमन्त्री हुनुभएको छ नि ?
उहाँहरूले पहल गर्ने सम्भावना छ । सम्मानित अदालतले निष्पक्ष निर्णय लिन्छ र हामीलाई न्याय दिन्छ भन्ने पूर्ण विश्वास पनि छ । विगतको सरकारले फसाएको हो भनेर अहिलेको सरकारले गम्भीर रूपले लिएको देख्छु । प्रधानमन्त्री, गृहमन्त्रीले पनि आश्वस्त पार्नुभएको छ । सरकारले निकास दिन्छ भन्ने विश्वास छ ।

नगरका लागि तपाईंका योजना के छन् ?
म आफैं चिकित्सक हुँ, समाजका विकृति–विसंगतिको उपचार गर्न चाहन्छु । कांग्रेसको नेतृत्वमा बनेको संविधानले स्थानीय तहलाई शक्तिशाली बनाएको छ । अहिले संघको अनुदानमा चलेको भए पनि साधन स्रोतको प्रयोगमार्फत स्थानीय तहको सर्वाङ्गीण विकास गर्न सकिन्छ । मैले स्वास्थ्य क्षेत्रका अतिरिक्त यहाँको शिक्षा, कृषि, खेलकुद क्षेत्र सुधारमा काम गर्नेछु । भ्रष्टाचार हटाउन र पारदर्शिता कायम राख्न काम गर्नेछु । आम आदमी पार्टीले दिल्लीमा स्कुल चलाएको देखेको छु । त्यहाँ अभिभावकलाई सामुदायिक विद्यालयमा पनि राम्रो शिक्षा पाइन्छ भन्ने विश्वास दिलाइएको छ । यहाँ पनि त्यसै गर्न सकिन्छ । युद्धकालमा हाम्रो घरमा पेट्रोल छर्केर आगो लगाइयो, बम पनि हानियो । हाम्रो परिवारविरुद्धको षड्यन्त्र त्यति बेलादेखिकै हो । त्यस्तो अवस्थामा पनि बुबाले समाज र राजनीतिलाई नेतृत्व दिएको देखेर म उहाँकै प्रेरणाले राजनीतिमा आएको छु ।

प्रकाशित : वैशाख २०, २०७९ ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?