कागेश्वरी मनोहराको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

जेष्ठ ६, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको कागेश्वरी मनोहराको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका उम्मेदवार उपेन्द्र कार्की निर्वाचित हुँदा उपमेयरमा एमालेकी शान्ता थापाले विजय प्राप्त गरिन् । 

शुक्रबार बिहान सकिएको मतगणना अनुसार कागेश्वरी मनोहराको मेयरमा कांग्रेसका उपेन्द्र कार्की ११ हजार ३ सय २२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रामशरण ढुंगानालाई पराजित गरेका छन् । ढुंगानाले ८ हजार २ सय ६३ मत प्राप्त गरे । 

उपमेयरमा निर्वाचित एमालेकी उम्मेदवार शान्ता थापाले ९ हजार ९ सय ७५ मत प्राप्त गरिन् । उनले सत्तारुढ गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार भोला चापागाईंलाई पराजित गरिन् । चापागाईंले उपमेयरमा ५ हजार ४ सय २२ मत प्राप्त गरेका छन् । 

२०७४ को स्थानीय तह निर्वाचनमा कागेश्वरी मनोहराको मेयरमा एमालेका कृष्णहरि थापा निर्वाचित भएका थिए । यसपटक निर्वाचित भएका कार्की भने त्यतिबेला ४ सय ४२ को मतान्तरले पराजित भएका थिए । त्यो निर्वाचनमा थापाले ८ हजार ५ सय ९६ मत प्राप्त गर्दा कार्कीले ८ हजार १ सय ५४ मत प्राप्त गरेका थिए । उपमेरमा पनि एमालेका उम्मेदवार नै निर्वाचित भएका थिए । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully