कमलामाई नगरपालिकाको मेयरमा कांग्रेसका पोखरेल विजयी

जेष्ठ ५, २०७९

राजकुमार कार्की

सिन्धुली — कमलामाइ नगरपालिकामा गठबन्धनबाट कांग्रेसका उम्मेदवार मेयरमा पहिलोपटक विजयी भएका छन् । कांग्रेस सिन्धुली सभापति समेत रहेका उपेन्द्र पोखरेल १४ हजार १ सय ८७ मतसहित कमलामाइ नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।

पहिलो पटक सदरमुकाम समेत रहेको कमलामाइ नगरपालिकामा कांग्रेस विजयी भएको हो । पोखरेलको निकटतम प्रतिस्पर्धी एमालेका महेन्द्रदेव श्रेष्ठले १२ हजार ५ सय ७६ मत पाए ।

यसअघि ०७४ मा पोखरेल एमालेका खड्गबहादुर खत्रीसँग दुई हजार ७ सय ६४ मत अन्तरमा पराजित भएका थिए । २०५४ र ०७४ मा बहुमत वडासहित कमलामाइ नगरपालिकाको मेयर, उपमेयर दुवै पदमा एमालेले जित्दै आएको थियो ।

उपमेयरमा एमालेकी मञ्जु देवकोटा दोहोरिएकी छिन् । उनले गठबन्धनका उम्मेदवारलाई ८ सय ५३ मतअन्तरमा पराजित गरेकी हुन् । देवकोटाले १२ हजार ६ सय ९४ पाइन भने गठबन्धनबाट माओवादी केन्द्रका निकटतम प्रतिस्पर्धी दीर्घराज श्रेष्ठले ११ हजार ६ सय ८७ मत प्राप्त गरे । 

वडाहरुमा भने एमालेले ३,७,८,११,१२,१३ र १४, कांग्रेसले १,४,५,६,९  र माओवादी केन्द्रले २ र १० नम्बरमा विजयी हासिल गरेको छ ।

कमलामाइको परिणाम आएसँगै सिन्धुलीको ९ वटै तहको चुनाव सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत समेत रहेका कमलामाइ नगरपालिकाका निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाले बताए । माओवादी केन्द्रले दुधौली नगरपालिका र तीनवटा गाउँपालिका, कांग्रेसले कमलामाइ नगरपालिका र दुईवटा गाउँपालिका तथा एमालेले दुईवटा गाउँपालिकाको प्रमुख पद हात पारेको छ ।

स्थानीय तह निर्वाचन २०७९

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully