काठमाडौँ — काठमाडौं महानगरपालिकाअन्तर्गत भित्री सहरको वडाहरुको मतगणना सुरु भएको छ। प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा जारी मतगणनामा पछिल्लो समयमा वडा नम्बर २७ को मतपेटिका खोलिएको हो।
नेपाल एमालेले 'कोर सिटी'मा आफ्नो प्रदर्शन राम्रो हुने र चुनाव जित्ने दाबी गर्दै आएको छ । तर एमालेसँग ठूलो मतान्तर भइसकेको छ । गुठीहरुले मत प्रभावित गर्ने 'कोर सिटी'को वडा नम्बर २७ को मतगणना सुरु भएको छ । हालसम्म सो वडाको ५ सय मत गणना गरिएको छ । जसमा एमालेका उम्मेदवार केशव स्थापितले २०० मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसकी सिर्जना सिंहले १ सय ४६ र स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६७ मात्रै मत प्राप्त गरेका छन् । त्यस वडामा ३ हजार ५ सय ६१ मत खसेको छ । हालसम्म महानगरपालिकाको १, २, ३, ४ र ५ नम्बर वडाको मतगणना सम्पन्न भैसकेको छ । अहिले वडा नम्बर ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाको मतगणना भैरहेको छ ।
बिहीबार बेलुकी नौ बजेसम्म ६४ हजार ५ सय ७९ मत गणना गरिएको छ । जसमा साहले २४ हजार ६ सय ३३ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार स्थापितले १३ हजार ३७ मत प्राप्त गरेका छन् भने कांग्रेसकी सिंहले १२ हजार २ सय ७२ मत प्राप्त गरेकी छिन् ।
