२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

विद्रोही हर्कले धरानमा ल्याएको तरंग

‘यो चुनावमा न मेरो कुनै संगठन थियो र छ, न म कुनै सेलेब्रिटी वा धनाढ्य हुँ । तर मैले जनताको मनको कुरा सार्वजनिक रूपमा उठाएको छु । राजनीतिको घिनलाग्दो खेल देखेका भोगेका बूढापाकादेखि विभिन्न दलका युवा कार्यकर्ताले भोट दिएका छन् ।’
प्रदीप मेन्याङ्बो

सुनसरी — गायक बन्ने रहरले ०६४ सालमा आफ्नै शब्द रहेको ‘मिसिङ हर्ट’ नामको सांगीतिक एल्बम निकाले  । तर सांगीतिक क्षेत्रमा उनी जम्न सकेनन् । तर धरानका स–साना समस्यालाई उठाउँदै आएका हर्कराज साम्पाङ राई अहिले भने चर्चामा रहेका छन् ।

विद्रोही हर्कले धरानमा ल्याएको तरंग

स्थानीय तहको चुनावको मतगणना भइरहँदा बालेन्द्र साह र हर्कराजजस्ता स्वतन्त्र उम्मेदवारको चर्चा मात्रै छैन, उनीहरू ठूला पार्टीलाई पछाडि पार्दै अग्रता पनि बनाइरहेका छन् । स्ट्रक्चरल इन्जिनियरसमेत रहेका बालेन्द्र नेपाली र्‍याप संगीतमा स्थापित नाम हो भने हर्कराज खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा आफ्नो स्थान बनाउन संघर्षरत पात्र ।

संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरमा ५ दलीय गठबन्धन र एमालेका उम्मेदवारभन्दा दोब्बर मतले अगाडि रहेर बालेन्द्रले तरंग ल्याइरहेका बेला हर्कराजले पनि धरानमा कांग्रेस र एमालेका उम्मेदवारलाई टक्कर दिइरहेका छन् । यद्यपि, दलीय उम्मेदवारलाई हराउँदै उनले जित हात पारे पनि यसपटक धरानले वैचारिक हिसाबले भने वामपन्थी उम्मेदवार नै पाउनेछ । ‘म वास्तवमा कम्युनिस्ट विचारधारा र सिद्धान्तबाट प्रेरित छु । मलाई यो सिद्धान्त मन पर्छ । तर म कुनै पनि दलको सदस्य भने होइन । स्वतन्त्र हुँ,’ कान्तिपुरसँगको कुराकानीमा उनले भने ।

पञ्चायतकालदेखि ०७४ सम्मको चुनाव कम्युनिस्टले नै जितेकाले धरान वामपन्थी गढ मानिन्छ । एमालेका लागि इतिहास फर्काउने अवसर र कांग्रेसका लागि ०७६ को जित कायम गरेर अर्को इतिहास बनाउने अवसरका रूपमा चर्चा भइरहँदा स्वतन्त्र उम्मेदवार हर्कराजले अर्कै इतिहास रच्ने अनुमानसमेत गरिएको छ ।

०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मेका साम्पाङ त्यहीको शुक्रबारे माविबाट एसएलसी गरेर ०५६ सालतिर उच्चशिक्षा अध्ययन गर्न धरान झरेका थिए । उनले महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन् । अध्ययनकै क्रममा उनले धरानमा एउटा ल्यांग्वेज सेन्टरमा अंग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरे । त्यसमा पनि चित्त नबुझेपछि हानिए अफगानिस्तान । त्यसपछि इराक गए ।

अफगानिस्तान र इराकमा ६ वर्ष काम गरेपछि उनी नेपाल फर्किए । त्यसपछि धरानको धनकुटे मार्ग भएर जाने १०५ मिटर चौडाइको मदन भण्डारी राजमार्गमा परेका स्थानीय बासिन्दाको घर जग्गा जोगाउने अभियान चलाए । उनले सडक विस्तारका नाममा नगरवासीलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाए । यो अभियानले उनको परिचय फैलियो ।

यसबीच सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भयो । भूमिगत खानेपानीका लागि काम सुरु भएर पानी वितरण त भयो तर समस्या भने ज्युँका त्युँ रहेपछि उनले आयोजनाप्रति नै प्रश्न गर्न थाले । मुखर रूपमा उनी एक्लै अगाडि बढे । विस्तारै अरुले साथ दिए । त्यसपछि उनले आफ्नो जिद्धिपनलाई उतारे ।

‘धरानको खानेपानी आयोजना, बीपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध म कराउन थालेँ एक्लै सडकमा । अरुले साथ दिए । अभियानलाई अगाडि बढाउँदै गर्दा नगरवासीले दैनिक रूपमा जोडिएका समस्याबारे मैले कुरा उठाएँ । तर राजनीतिक दल र स्थानीय सरकारले भाउ दिएनन् । म झन् जोडले कराउन थालेँ, उनले भने ।

जनताको सेवा गर्न चुनिएका राजनीतिक दलका जनप्रतिनिधि अरु नै काम व्यस्त भएपछि असन्तुष्टि चुलिएको उनको बुझाई छ । त्यही असन्तुष्टिका कारण आफूले लोकप्रिय मत पाइरहेको उनी बताउँछन् । ‘यो चुनावमा न मेरो कुनै संगठन थियो र छ, न म कुनै सेलेब्रिटी वा धनाढ्य हुँ । तर मैले जनताको मनको कुरा सार्वजनिक रूपमा उठाएको छु । राजनीतिको घिनलाग्दो खेल देखेका भोगेका बूढापाकादेखि विभिन्न दलका युवा कार्यकर्ताले भोट दिएका छन्,’ उनी भन्छन् ।

०७४ को स्थानीय तहको चुनावमा उनी केवल मतदाता मात्र थिए । तर ०७६ को उपचुनावमा उनी एक्लैको निर्णयले स्वतन्त्र उम्मेदवार बने । त्यसबेला उनले ४२२ मत ल्याए । दलीय रूपमा उनले प्राप्त गरेको मत निकै थोरै भए पनि उनलाई कुनै चिन्ता भने भएन । सामाजिक, राजनीतिक र स्थानीय तह र सार्वजनिक संस्थामा हुने गरेका विकृति र विसंगतिविरुद्ध उनले निरन्तर प्रश्न उठाए । अनि फेरि धरानको मेयरमा उम्मेदवारी दिए ।

‘भारतले कालापानी, तिंकर अतिक्रमण गरेकोमा तीव्र आक्रोश पोख्दै आएँ । एमसीसीविरुद्ध पनि चर्को आवाज उठाएपछि मलाई देश विदेश बस्ने नेपाली दाजुभाइ र दिदीबहिनीले चिने । नेपाललाई हङकङ सिंगापुर वा अमेरिका युरोप जस्तो बनाउने होइन, नेपाललाई नेपाल नै जस्तो बनाउनु पर्छ,’ चुनावअघिको आफ्नो अभियानबारे उनले सुनाए । आफूले अरु दलका उम्मेदवारले जस्तो प्रचारप्रसार पनि नगरेको उनी बताउँछन् । ‘राजनीतिक दल र नेताहरू सुध्रिनु पर्छ, भ्रष्टाचार, कमिसन र लुट शासनको अन्त्य हुनुपर्छ भन्ने मेरो धारणा हो । यही कुरो मैले आफ्नो फेसबुकमा रहेका मेरा ६५ हजार फलोअर्समार्फत व्यक्त गर्दै आएको छु,’ उनले भने ।

लामो समयका लागि राजनीतिमा नलागेको पनि उनी बताउँछन् । कुर्सी र पदका लागि मरिहत्ते गर्ने नेताको बानी भएकाले पनि नयाँ पुस्तालाई राजनीतिका तान्ने आफ्नो उद्देश्य भएको उनको भनाई छ । तर विकृति र विसंगति, बेथितिविरुद्ध भने सदा लडिरहने उनले बताए ।

पछिल्लो मतपरिणामअनुसार हर्कराज ९२९५ मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई कांग्रेस उम्मेदवार किशोर राई ९०२२ मतसहित दोस्रो स्थानमा रहेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ७२८८ मत ल्याएकी छिन् ।

आफूले पाएको भोटबारे हर्कराज भन्छन्, ‘यो हर्क साम्पाङ व्यक्तिलाई दिएको होइन । समाजमा मैले देखाएको निष्ठा र इमान्दारितालाई दिएको हो । यो मप्रतिको भरोसा पनि हो ।’ उनले धरानको मेयर भइहालेमा सबैभन्दा पहिले खानेपानी समस्या समाधानका लागि ‘एक्सन’मा जाने बताए ।

धरान खानेपानी व्यवस्थापन बोर्डमार्फत खानेपानी आयोजनामा चुहावट र कालोबजारी भइरहेकाले त्यसलाई रोक्ने बताए । धरानको खानेपानी समस्या समाधानका लागि सप्तकोसीबाट पानी ल्याउन पहल गर्ने पनि उनको भनाई छ । साहित्य र संगीतमा विशेष रुचि राख्ने उनी आफू कुनै दलमा आबद्ध नहुने बताउँछन् ।

प्रकाशित : जेष्ठ ५, २०७९ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?