सिन्धुपाल्चोकको पाँचपोखरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, गुन्सा तनावग्रस्त- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुपाल्चोकको पाँचपोखरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, गुन्सा तनावग्रस्त

अनिश तिवारी

सिन्धुपाल्चोक — मतगणनाको विषयमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा पाँचपोखरी थाङपाल गाउँपालिका–५, गुन्सा क्षेत्र तनावग्रस्त बनेको छ । दुवै पक्षबीच कुटाकुट र ढुंगामुडा हुन थालेपछि स्थानीयको गुहारमा झडपलाई रोक्न गुन्सा क्षेत्रमा चारैतिर सुरक्षाकर्मी फैलिएका छन् । बुधवार मत गणनाको क्रममा तीन मत हराएको र चार वटा मतपत्रको अर्धकट्टी नै नभएको पाइएपछि पुन मतगणना गर्नुपर्ने माग राख्दै कांग्रेससहित अन्य दलका कायकर्ताले मतगणनालाई रोकेका थिए । 

यही विवादबीच त्रासका कारण सहायक मतदान अधिकृत र एक गणक सुटुक्क हिँडेका थिए । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालकाअनुसार दुवै पक्षबीचको कटुभावले झडप भएको र सुरक्षाको लागि घटनास्थलमा सुरक्षाकर्मी खटाइएको छ ।

बुधवार घटनास्थलमा प्रजिअ खनाल, निर्वाचन अधिकारीको टोली पुगेर विवाद मिलाएको थियो । सोक्रममा वडामा हराएको तीन मतबारे सहमति गराई मतगणना सम्पन्न गरिएको थियो ।

‘मत गणना पाँचपोखरी थाङपाल गाउँपालिका भवनमा शान्तिपूर्वक भइरहेको छ, यसले त्यहाँ असर नगरेपनि झडपलाई नराम्रो रुप लिन नदिन सर्तकता अपनाइएको हो,’ प्रमुख जिल्ला अधिकारी खनालले भने । उनका अनुसार वडा नं. ५ मा १५ मतान्तरले एमालेका काले गोले विजयी भएका छन् ।

त्यही विषयले यहाँ तनावको स्थिति सिर्जना भएको हो । कांग्रेस क्षेत्र न २ का महाधिवेशन प्रतिनिधि कालिका गोलेकाअनुसार बिहीवार बिहान गुन्साबाट गाउँपालिका भवनतिर जाँदै गरेका कांग्रेसका एक कार्यकर्तालाई एमालेका कार्यकर्ताको समुहले बाटो छेकेर कुटपिट गर्दै मोटरसाइकल तोडफोड गरेका थिए ।

त्यसपछि झडपको स्थिति बनेको थियो । पछि कांग्रेसका कार्यकर्ताले एमालेबाट नवर्निवाचित वडाध्यक्ष गोलेको घरमा ढुंगामुडा र तोडफोड गरेका थिए । एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएपछि त्यसक्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

‘आहिले झडप धेरै हदसम्म शान्त भइसकेको अवस्था छ, नवर्निवाचित वडाध्यक्षको घरमा ढुंगामुडा र तोडफोड भएको कुरा छ, ती समुहलाई पनि खोजिरहेका छौँ,’ उनले भने । यसअघि मतदानको दिन यहाँ एमाले, राप्रपा लगायत दलले बुथ कब्जा गरेको आरोप लागेको थियो ।

प्रकाशित : जेष्ठ ५, २०७९ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्

कैलालीको घोडाघोडीमा एकीकृत समाजवादी विजयी

मोहन बुडाऐर

धनगढी — कैलालीको घोडाघोडीमा  नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका उम्मेदवार खडकबहादुर रावत विजयी भएका छन् । उनले एमालेका ममताप्रसाद चौधरीलाई फराकिलो मतान्तरमा पराजित गरेका छन् । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार समाजवादीका रावतले १३ हजार १ सय २८ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी निर्वतमान मेयर ममताप्रसाद चौधरीले ८ हजार २ सय ४१ मत मात्रै प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन् । उनले १२ हजार २ सय ७० मत प्राप्त गरेकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी करुणादेवी कटालाले ६ हजार ९ सय ६३ मत प्राप्त गरेकी छन् ।

कैलालीका १३ वटा स्थानीय तहमा समाजवादीले यो एक स्थानीय तह जितेको छ । परिणाम आउन बाँकी जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी अगाडि रहेको छ । भजनी नगरपालिकामा पनि नागरिक उन्मुक्ति पार्टीले नै अग्रता लिएको छ ।

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल अगाडि छन् । गौरीगंगामा माओवादी र लम्की चुहामा कांग्रेसले अग्रता लिएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ १२:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×