सिन्धुली — ०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट चुनावी प्रतिस्पर्धामा दुधौली नगरपालिकामा उत्रिएका दिनेश अधिकारी दनुवार ३७५ मतले पराजित भए । ५ वर्षपछि अहिले भएको चुनावले भने उनलाई मेयरको जिम्मा दिएको छ ।
सत्ता गठबन्धनको तर्फबाट मेयरमा माओवादी केन्द्रका दनुवार विजयी भएका हुन् । उपमेयरमा कांग्रेसका चन्द्रकिशोर थारु निर्वाचित भए । मेयरमा निर्वाचित दनुवारले १५ हजार ८३८ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मण कार्कीले १० हजार ६५२ मत पाए ।
निर्वाचित दनुवार ०७४ मा एमालेसँग झिनो मतअन्तरले पराजित भएका थिए । उनले दोस्रो पटकमा सफलता हात लगाएका छन् । उपमेयरमा कांग्रेसका थारुले १४ हजार २१३ मत प्राप्त गर्दा एमालेकी बालकुमारी अधिकारी दनुवारले १० हजार ६११ मत पाइन् । १४ वटा वडा रहेको दुधौलीमा १,३,४,५,६,७, र ८ नम्बर कांंग्रेसले जितेको छ । २,९,१०,११ एमाले र १२,१३,१४ माओवादी केन्द्रले जितेका छन् । दुधौलीलाई दनुवार समुदायको उद्गम स्थल मानिन्छ ।
