म्याग्दी — म्याग्दीको अन्नपुर्ण गाउँपालिका अध्यक्षमा एमालेका भरतकुमार पुन र उपाध्यक्षमा दिवा तिलिजा पुन विजयी भएका छन् । साे पालिका यसअघि कांग्रेसले जितेको थियो । विजेता एमालेका पुनले ४ हजार ५८ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बलबहादुर तिलिजाले ३ हजार ३ सय १६ मत पाए ।
त्यस्तै उपाध्यक्षमा एमालेकी दीवाकुमारी पुनले ४ हजार १५ मत पाएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी ललिता तिलिजाले ३ हजार ३ सय ५८ मत पाइन् । अन्नपूर्ण गाउँपालिकाका ८ वडामध्ये १, २, ३, ७ र ८ मा एमाले, ४, ५ र ६ वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अन्नपूर्ण गाउँपालिका, ८ राम्चेमा नेकपा एमालेबाट ०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी टिम यस पटकको निर्वाचनमा पनि विजयी भएको छ । अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा एमालेबाट वडाध्यक्षमा खमबहादुर गर्वुजा, महिला सदस्य राममाया पुन, दलित महिलामा यमुना बिक र खुल्ला सदस्यमा देउकुमारी खोरजा तथा यामबहादुर पुर्जाको टिम दोहोरिएर निर्वाचित भएको हो ।
