रौतहट — रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका सन्जयकुमार काफ्ले नगरप्रमुखमा निर्वाचित भएका छन् । उपमेयरमा कांग्रेसकै जयमाला चौधरी निर्वाचित भएकी छन् ।
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन अन्तर्गत चन्द्रपुर नगरपालिकाको नगरप्रमुखमा कांग्रेस उम्मेदवार काफ्लेले ९ हजार १ सय ६३ मत ल्याइ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार शिवप्रसाद आचार्यलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गरेका हुन् । पराजित एमाले उम्मेदवार शिवप्रसाद आचार्यले ६ हजार ५ सय २४ मत पाए । नगरप्रमुखमा जितेका काफ्ले चन्द्रपुर–५ का निवर्तमान वडा अध्यक्ष हुन् । उनीसँग पाँच वर्ष वडामा काम गरेको अनुभव छ ।
उपप्रमुखमा नेपाली कांग्रेसकी चौधरीले ११ हजार ३ सय ७८ मत पाएर निर्वाचित भएकी छन् । चौधरीकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी देवकी नेपालले ७ हजार ६ सय ४० मत पाएकी छन् ।
यस नगरपालिकामा १० वटा वडा छन् । कांग्रेसले १, ५, ७, ८ र ९ नम्बर वडा जितेको छ । २, ३ र ६ मा माओवादीबाट वडा अध्यक्ष निर्वाचित भए । ४ र १० मा नेकपा एमालेले वडामा जितेको छ । जिल्लाकै चर्चामा रहेको यो नगरपालिकाका २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका रामचन्द्र चौधरीले जितेका थिए । यसपटक चौधरीलाई पार्टीले टिकट नदिए पछि उनी बागी (स्वतन्त्र) उम्मेदवारका रुपमा चुनावी मैदानमा थिए । चौधरीले ३ हजार ८ सय ४२ पाएका छन् ।
