काठमाडौँ — सुनसरीको धरान उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ)ले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई टक्कर दिएका छन् । काठमाडौं महानगरपालिकामा वालेन्द्र साहले अग्रता लिइरहँदा धरानमा हर्कराजले पनि सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवारलाई उछिनेका छन् ।
पछिल्लो मतपरिणामअनुसार हर्कराजले ८१४० मतसहित अग्रता बनाइरहेका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका किशोर राईले ८१२६ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ६७१३ मत ल्याएकी छिन् ।
त्यस्तै उपमेयरमा भने गठबन्धनबाट माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ९१३६ मत ल्याएका छन् । उनलाई एमालेका पदमप्रसाद लिम्बुले ८८५१ मत ल्याएका छन् ।
धरानको चुनावी इतिहासमा कांग्रेस जहिल्यै पराजित हुँदै आएको र एमाले (वामपन्थी) जितिरहेको मात्र देखिन्छ, ०७६ को उपनिर्वाचनको नतिजा बाहेक । तर यसपटक धरान–१८ बुद्धचोक बस्ने हर्कराजले पार्टी संगठन तल्लो स्तरसम्म भएका एमाले र कांग्रेसलाई चुनौती दिइरहेका छन् ।
मेयर उम्मेदवार हर्कराज लामो राजनीति गरेका नेता होइनन् । वैदेशिक रोजगारमा करिव आधा दशक बिताएर आएका उनी धरानको खानेपानी समस्यालाई एकसूत्रीय एजेन्डा बनाएर अघि बढेका थिए । अहिले स्थानीय तहको चुनावमा पनि उनले यही एजेन्डालाई मुखर बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् । उनको पार्टी पनि नभएको र संगठन पनि नभएकाले धरानका २० वटा वडामध्ये कतिपयमा त भोट माग्न पनि जान भ्याएनन् । उनले नमागेको वडाहरुबाटै पनि अपेक्षा गरेभन्दा बढी भोट प्राप्त भएको बताएका छन् । धरानमा ६२ हजार ८ सय ९७ मत खसेको छ ।
स्वतन्त्र उम्मेदवार साम्पाङले आफ्नो प्रभाव क्षेत्रको मतगणना हुनै बाँकी रहेको बताए । ‘मैले पुग्न नसकेको र घुम्न नपाएको वडाहरुबाट सम्मानजनक मत पाएको छु । तर भोटै मागेका र पुगेका दर्जन वडाहरुको मत गणना हुन बाँकी नै छ,’ उनी भन्छन् ।
उनले चुनावमा एक सातामात्र प्रचार गरेको, तर घोषणापत्र र प्रतिवद्धता पत्र समेत निकाल्न नपाएको बताए । राजनीतिक विश्लेषक राजेन्द्र शर्माले सर्वसाधारण मतदाता र नयाँ मतदाताको विचारअनुसार दलहरु नचल्दा अहिलेको नतिजा देखिएको टिप्पणी गरे ।
