खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन दल विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन दल विजयी

डम्बरसिं राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका तीर्थराज भट्टराई र उपमेयरमा माओवादीका विशन राई विजयी भएका छन् ।

भट्टराईले ११ हजार तीन सय ८९ मत र राईले १० हजार चार सय ३८ मत ल्याएर विजयी भएका हुन् । भट्टराईका निकटतम प्रतिस्पर्धी एमालेका कुमार आचार्यले ६ हजार नौ सय ९६ मत ल्याएका छन् ।

उपमेयरमा पराजित भएकी एमालेकी विणोदवी राईले सात हजार तीन सय १९ मत ल्याइन् । २०७४ को निर्वाचनमा भने विणादेवी उपमेयरमा निर्वाचित भएकी थिइन् ।

यसैबीच नगरका बहुमत वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भए । वडा नं २ सोल्मा, ४ खाल्ले, ६ नेर्पा, ९ निर्मलीडाँडा, ११ खार्मी, १२ जालपा र १३ नुनथलामा माओवादीले प्यानल नै जितेको छ ।

कांग्रेसले वडा नं १ दिक्तेल, ५ लफ्याङ, ७ दोर्पाचिउरीडाँडा र १५ विजयखर्क तथा एमालेले वडा नं ३ बाम्राङ, ८ बुवालुङ र १४ बुइपामा प्यान लै जितेको छ । वडा नं १० पाथेकामा माओवादी र जनता समाजवादीको गठबन्धनमा जनता समाजवादीका उम्मेदवारले अध्यक्ष जितेका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्

भक्तपुरको चाँगुनारायण प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

कान्तिपुर संवाददाता

भक्तपुर — चाँगुनारायण नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका जीवन खत्री र उपप्रमुखमा एमालेका उम्मेदवार रमेश बुढाथोकी विजयी भएका छन् । खत्रीले निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार निवर्तमान उपप्रमुख बिना बास्तोलालाई ३ सय ९० मतान्तरले पराजित गरे । खत्रीले ९ हजार ५५० मत प्राप्त गरी विजयी भएका छन् भने बास्तोलाले ९ हजार १६० मत ल्याएकी छन् । 

चाँगुनारायण नगरपालिका प्रमुखमा निर्वाचित कांग्रेसका जीवन खत्री र उपप्रमुख निर्वाचित एमालेका रमेश बुढाथोकी ।

उपप्रमुखमा विजयी बुढाथोकीले निकतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार सुभद्रा काफ्लेलाई २ हजार ३१ मतान्तरले पराजित गराउँदै ११ हजार १ सय ७ मत प्राप्त गरी विजयी भएका छन् । काफ्लेले ९ हजार ७६ मत ल्याएकी छन् ।

चाँगुनारायण नगरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तेस्रो स्थान लिएको छ । राप्रपाबाट नगरप्रमुखका उम्मेदवार रविन्द्रप्रताप शाहले ८ हजार ६७ मत र उपप्रमुखकी उम्मेदवार मञ्जु कार्कीले ६ हजार ८६ मत प्राप्त गरिन् ।

चाँगुनारायण नगरको वडास्तरमा भने मिश्रित परिणाम आएको छ । वडा नम्बर १, २, ५ र ७ मा कांग्रेस, ३ र ४ मा एमाले, ६ र ७ मा राप्रपा तथा ९ मा नेमकिपाबाट वडाध्यक्षका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७९ ०९:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×