रौतहट — मतपेटिकामा आगजनी र लुटपाटको घटनापछि स्थगित रौतहटको ६ वटा नगरपालिकामा बुधबार मतदान सुरु भएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार रौतहटको फतुवा विजयपुर, गरुडा, देबाही गोनाही, यमुनामाई, गढीमाई र बौधिमाई नगरपालिकामा कडा सुरक्षाबीच मतदान हुँदै छ । यी नगरपालिकाहरूमा वैशाख ३० गते झडप हुँदा एक दर्जन घाइते भएका थिए । अहिले मतदान केन्द्रहरुमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले निर्धक्क भएर मतदान गर्न अनुरोध गरे । ‘यो पटक सुरक्षा व्यवस्था कडा बनाइएको छ‚’ उनले भने ‘मतदान वरपर वा मतदान भइरहेको स्थानमा कुनै किसिमको हर्कत हुन दिँदैनौं । सबैतिर शान्ति सुरक्षा कडा पारिएको छ ।’
६ नगरपालिकाको ११ मतदानस्थलका २४ मतदन केन्द्रहरूमा बिहानैदेखि मतदाताहरू लाइन बसेका छन् । यमुनामाई गाउँपालिकामा मतपेटिका लुटेको घटनाले रौतहटको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको थियो । प्रहरी प्रधान कर्यालयले पनि रौतहटका प्रहरी प्रमुख बिनोद घिमिरेलाई स्पष्टीकरण सोध्ने जनाएको थियो ।
