कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६७

बाराको पचरौताका दुई वडामा बुधबार पुन: मतदान हुँदै 

प्रदेशका सबै सुरक्षा प्रमुखले मतदान केन्द्रको निरीक्षण गरे
लक्ष्मी साह

बारा — बाराको पचरौता नगरपालिकाका दुई वटा वडाका चार वटा मतदान केन्द्रमा बुधबार कडा सुरक्षाबीच पुन: मतदान हुने भएको छ । वैशाख ३० मा मतदान केन्द्र कब्जा गरेर मत खसाल्न थालेपछि एउटै नगरपालिकाका ती मतदान केन्द्रको मतदान रद्द गरिएको थियो । ती केन्द्रमा उम्मेदवारहरुले लाइनमा बसेका मतदाता, मतदान अधिकृतसहित मतदान गराउन खटिएका कर्मचारी, थोरै संख्यामा खटिएका सुरक्षाकर्मीहरुलाई धम्क्याएर मतपत्र खोस्दै एक छापे भोट खसाल्न थालेको पाइएपछि रद्द गरिएको थियो । 

बाराको पचरौताका दुई वडामा बुधबार पुन: मतदान हुँदै 

पचरौता नगरपालिकाका मतदान अधिकृत नीरबहादुर दाहालकाअनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसका लागि मतपत्र, मतपेटिका, स्वस्तिक छाप, कर्मचारी व्यवस्थापन गर्ने लगायतको कार्य भइसकेको छ । ‘मतदानको सबै तयारी भइसकेको छ,’ दाहालले भने, आयोगले तोकेअनुसार मतदान पुन: मतदान हुँदैछ ।’ वडा २ को श्रीनगर बैरियास्थित मतदान स्थलको श्रीनगरप्रावि र वरगाछी मतदान केन्द्रमा क्रमश: ८९३ र ४६१ गरी १ हजार ३ सय ५४ मतदाता छन् । यसैगरी वडा ४ बल्दारीस्थित नेराप्रावि मतदान स्थलको मतदान केन्द्र ‘क’ मा ८ स १२ र ‘ख’ मा ८ सय २० गरी १ हजार ६ सय ३२ मतदाता छन् । ४ वटै मतदान केन्द्रमा २ हजार ९ सय ८६ मतदाता छन् ।

यस्तो रहनेछ सुरक्षा

यी ४ वटै मतदान केन्द्र नेपाल–भारत दसगजासित टाँसिएकाले सुरक्षा चुनौती छ । त्यसैले सुरक्षा बन्दोबस्त मंगलबारदेखि नै कडा बनाइएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार कलैया सदरमुकामबाट पूर्वदक्षिणमा सिमानासित जोडिएको यो मतदान केन्द्रको निरीक्षण गर्न मंगलबार मधेस प्रदेशका सशस्त्र र नेपाल प्रहरीका डिआइजी, नेपाली सेनाका जनरल, राष्ट्रिय अनुसन्धानका प्रमुखबाट मतदान केन्द्र निरीक्षण भएको छ ।

‘पहिला जोखिम र चुनौती थियो अब सबै तहसनहस भइसक्यो,’ प्रजिअ कटुवालले भने, ‘त्यस क्षेत्रका सबै चोक, गल्ली, बस्ती, मतदान केन्द्र, बजारभरि सुरक्षाकर्मी हुन्छ । सवारी चल्दैन, निषेध गरिएको छ । विद्यालय बन्द हुन्छ ।’ उनका अनुसार सीमा सिल हुन्छ र त्यसका लागि ‘काउन्टर पार्ट मिटिङ’ भइसकेको छ । जिल्लाका सबै सुरक्षा प्रमुख र मुख्य निर्वाचन अधिकृतसँगै ठूलो संख्यामा सुरक्षाकर्मी तथा म्यादीहरुको उपस्थितिमा कडा सुरक्षाकाबीच मतदान हुने उनले बताए । मतदाताको भरपुर सुरक्षा अनुभुति हुने गरी र मतदाताको मत दिने आफ्नो अधिकार निर्धक्क, निर्भिक भएर प्रयोग गर्ने गरी सुरक्षा बन्दोवस्त मिलाइएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।

जिल्लाका एक सुरक्षा अधिकारीका अनुसार त्यहाँका ४ वटै मतदान केन्द्र सुरक्षाको दृष्टिले अति संवेदनशिलको सूचीमा भएपनि त्यसबारे जिल्ला सुरक्षा समितिमा पटकपटक छलफल गरिँदै आएपनि त्यसअनुसारको सुरक्षा तयारी र निगरानी नगरिएको कारण मतदान केन्द्र कब्जाको स्थिति आएको थियो । ‘सुरक्षा फितलोले ‘बुथ कब्जा गरी मत पत्र एकलौटी छापिएको थियो,’ उनले भने, ‘निगरानीमा गम्भीरता देखाइएन ।’

वैशाख ३० मा त्यस नगरको अरु मतदान केन्द्रमा भएको मतदानको मतपेटिका पिपरपातीस्थित उच्च माविमा कडा सुरक्षाबीच सुरक्षित राखिएको छ । मतदान सकेपछि मतगणना प्रक्रियामा जाने निर्वाचन अधिकृत दाहालले बताए । ‘यसपालि जति मतदाता छन्, त्यति नै सुरक्षाकर्मी परिचालनको छ,’ ती सुरक्षा अधिकारीले भने, ‘नेपाल प्रहरीको डिएसपीको कमाण्डमा मतदान हुनेछ । प्रत्येक मतदातापिच्छे सुरक्षा हुन्छ ।’ पहिलो सुरक्षा घेरा अर्थात बाहिरी घेरामा नेपाली सेना, दोस्रो अर्थात बीचमा सशस्त्र र तेस्रो (मतदान क्षेत्र) मा नेपाल प्रहरीको सुरक्षा हुन ती सुरक्षा अधिकारीले बताए ।

३ घण्टामै मत छापिएको थियो

वडा २ को श्रीनगरप्रावि मतदान केन्द्रमा बैशाख ३० मा मतदान सुरु भएको ३ घण्टामा नै ४ सय ६१ मत एकलौटी छापेर (एक छापे) मतपत्रहरु मतपेटिकामा खसाइएको थियो । मत छाप्दै गर्दा निर्वाचन प्रमुखले जिल्लाका सुरक्षा अधिकारीहरुलाई खबर गरेनन् । ‘डरत्रास देखाएर जबर्जस्ती मतपत्रमा सही गर्न लगाएर मतपत्र खोस्दै मत छापिएको थियो,’ पचरौताका निर्वाचन अधिकृत दाहालले भने, ‘त्यसको ‘काउन्टर’ दिन बदलामा वरगाछी मतदान केनद्रमा अर्को पक्षले त्यसै गर्न थाले । दुवैमा त्यो भएपछि वडा ४ को बेल्दारीको मतदान केन्द्रमा पनि त्यसैगरी छापिन सुरु भएको थियो ।’

उनका अनुसार पहिला एमाले र पछि जसपा समर्थकले त्यसो गरेको गरेका थिए । ‘त्यही क्रममा छापेकोलाई हस्तक्षेप गर्दा झडप भएको थियो,’ उनले भने । झडपको क्रममा उम्मेदवारसहित कम्तीमा २० जना घाइते भएका थिए । झडप नियन्त्रणमा लिन प्रहरीले आधा दर्जन अश्रुग्यास प्रहार गरेका थिए । झडपमा वडा ४ का एमालेका उम्मेदवार बैद्यनाथ यादव घाइते भएका थिए । घाइतेहरुको अहिले पनि उपचार भइरहेको छ । जिल्लाका ५ सय ४१ मतदान केन्द्र मध्ये यी ४ वटाको मतदान बदर भएकोले भोलि पुन: मतदान हुन थालेको हो । यी मतदान केन्द्रबाहेक जिल्लाको अरु बाँकी मतदान केन्द्रमा ७० प्रतिशत मतदान भएको थियो ।

प्रकाशित : जेष्ठ ३, २०७९ २३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×