काठमाडौंको शंखरापुरको मेयरमा राप्रपाका रमेश नापित विजयी

२०६२/६३ पछि भएका दुई वटा स्थानीय तहको निर्वाचनमा राप्रपाले पहिलो पटक काठमाडौंमा जित हात पारेको हो

जेष्ठ ३, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका रमेश नापित मेयरमा निर्वाचित भएका छन् । मुलुकभर स्थानीय तहको मतगणना भइरहँदा राप्रपाबाट नापित पहिलो निर्वाचित मेयर बनेका छन् ।

नापितले गठबन्धनका उम्मेदवार एवं एकीकृत समाजवादीका लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठलाई ४९८ मतको अन्तरले पराजित गरेका हुन् । नापितले ४७०० र श्रेष्ठले ४२०२ मत प्राप्त गरेका छन् । 

त्यसैगरी उपमेयरमा गठबन्धन एवं कांग्रेसकी उम्मेदवार समिता श्रेष्ठ निर्वाचत भएकी छिन् । शंखरापुरमा कांग्रेस र समाजवादीले गठबन्धन गरेका हुन । उपमेयर श्रेष्ठले ३१६४ मतको अन्तरले राप्रपाकी विजयकुमारी वाइबालाई पराजित गरेका हुन् । श्रेष्ठले ६३६२ र वाइबाले ३२९८ मत प्राप्त गरेका छन् ।

यसैगरी मेयरमा नेकपा एमालेका कृष्णलाल बजगाईंले ३६२२ मत प्राप्त गरी तेस्रो स्थानमा आएका छन् भने माओवादी केन्द्रका मधु केसीले २२४४ मत प्राप्त गरेका छन् । 

यसैगरी कांग्रेसले वडा नम्बर २,४,८ र ९  मा जित हात पार्दा राप्रपाले ३,६ र ७ एमालेले ५ र माओवादीले वडा नम्बर १ वडामा विजय हासिल गरेको छ । यस २०७४ को निर्वाचनमा शंखरापुरमा एमालेले जित हासिल गरेको थियो । 

२०६२/६३ पछि भएका दुई वटा स्थानीय तहको निर्वाचनमा राप्रपाले पहिलो पटक काठमाडौंमा जित हात पारेको हो । त्यस्तै यस पटक हेटौंडा उपमहानगरपालिकामा पनि राप्रपाका दीपकबहादुर सिंहले गठबन्धनका उम्मेदवारलाई टक्कर दिइरहेका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार मीना लामा र सिंहबीच कहिले अघि, कहिले पछि हुने भइरहेको छ । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully