सिन्धुलीको मरिणमा बढी मतपत्र भेटिएपछि मतगणना रोकियो


सिन्धुली — मुचुल्कामा लेखिएको भन्दा ६ वटा मतपत्र बढी भेटिएपछि सिन्धुलीको मरिण गाउँपालिकाको मतगणना रोकिएको छ ।


७ वडा रहेको मरिणमा ६ वटाको गणना सम्पन्न भइ नतिजा आइसकेको छ । वडा नम्बर ७ को बाह्रबिसे मतदान केन्द्रमा खसेको मतभन्दा बढी भेटिएपछि प्रतिस्पर्धामा रहेको एमालेका कार्यकर्ताहरुले गणना रोकेका हुन् ।
निर्वाचन अधिकृत दुर्गा बन्जाडेका अनुसार मुचुल्का ६३० मत खसेको भनेर लेखिएको र मतपत्र ६३६ पेटिकामा भेटिएकाले विवाद उत्पन्न हुँदा रोकिएको हो । मुचुल्का गरेपछि मतपेटिकामा भएको मत नै सदर हुने भएकाले अनावश्यक विवाद गरेर मतगणना रोकेको उनको भनाइ छ ।
‘मुचुल्का गर्दा कहिले काही अंक लेख्दा थपघट हुनसक्छ,’ उनले भनिन्, ‘बाकसमा लाहाछाप गरी शिलबन्दी गरेपछि खोल्दा भएको मत संख्या नै कानून अनुसार आधिकारिक हुन्छ । यसमा विवाद गर्नुपर्ने केही छैन ।’ मरिण गाउँपालिकाको गणना सम्पन्न भएका ६ वडामध्ये वडा नम्बर ४ बाहेक सबै माओवादी केन्द्रले जितेको छ । वडा नम्बर ४ मा एमालेले वडाध्यक्षसहितको प्यानल जितेको छ । एउटा वडाको मतगणना रोकेर अनावश्यक विवाद नझिक्न भन्दै सहमतीको प्रयास भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गणना सम्पन्न भएकोमा गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विमर्श मोक्तान चारसय हाराहारी मत अन्तरले अगाडि छन् । उनले गणना सम्पन्न भएको ४ हजार ४ सय ८ मत प्राप्त गरेका छन् भने एमालेका गोविन्द लाल माझीको ४ हजार २५ मत छ । उपाध्यक्षमा कांग्रेसकी विमला माझीको ४ हजार ३ सय ५ हुँदा मंगोल नेशनल अर्गनाइजेसनकी धनजरीमायाँ बलको ४७९ मत रहेको छ । उपाध्यक्षमा एमालेकी उम्मेदवार संगिता माझीले उम्मेदवारी फिर्ता लिएकी थिइन् ।
प्रकाशित : जेष्ठ ३, २०७९ २१:३९