उदयपुर — ८ स्थानीय तह रहेको उदयपुरमा ६ वटामामतगणना सुरु भएको छ । त्रियुगा र कटारी नगरपालिकामा भने मतगणना निश्चित हुन सकेको छैन । त्रियुगा नगरपालिका -१२ जनप्रेमी मावि मतदान केन्दमा शुक्रबार भएको मतदान रद्ध गरिएको छ ।
त्यसैगरी कटारी नगरपालिका - १० सोरुङछविसेस्थित कालिका मावि मतदान केन्द्रमा गोली चलेपछि मतपेटीका केन्द्रमा ल्याउन नसक्दा मतगणना अनिश्चित भएको थियो । बेलका र चौदण्डीगढी नगरपालिकासहित रौतामाई, उदयपुरगढी, ताप्ली र लिम्चुङवुङ गाउँपालिकामा मतगणना भइरहेको सहायक निर्वाचन अधिकृत दीलिप मगरले बताए ।
'त्रियुगा नगरपालिका-१२ जनप्रेमी मावि मतदान केन्द्रमा मतदान रद्ध गरिएको छ,'उनले भने, 'कटारी नगरपालिका- १० सोरुङबाट मतपेटीका कटारी नगरपालिकाको निर्वाचन कार्यालय आइपुगेको छैन । त्यसकारण यी दुई नगरपालिकामा मतगणना अनिश्चि भएको हो ।'
सोरुङको मतदान केन्द्रमा मतदान प्रक्रिया सकिएपछि अराजक समुहले मतपेटीका कब्जा गर्न खोज्दा प्रहरीले चलाएको गोलीबाट एक युवकको मृत्यु भएको थियो । बेलका नगरपालिकाका निर्वाचन अधिृकत जनकराज पन्तका अनुसार १ र ९ नम्वर वडाबाट गणना सुरु भएको छ । बेलकामा २१ हजार २ सय ६६ मत खसेको छ । अहिलेसम्म ६ सय मत गणना भएको छ । चौदण्डीगढी नगरपालिकाको वडा नम्वर १ बाट गणना सुरु भएको छ ।
ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा गएराती देखिनै मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय उदयपुर खेमराज कोइरालाले बताए । उदयपुरगढी र रौतामाई गाउँपालिकामा सर्वदीय बैठकपछि अहिले साढे ९ बजेबाट मगणना सुरु गरिएको छ । उदयपुरमा जम्मा १ लाख ४० हजार ८ सय मत खसेको निर्वाचन कार्यालयले जानाएको छ ।
