जिल्लाभरि ७० प्रतिशत मत खस्यो
वीरेन्द्रनगर — स्थानीय तह सदस्य निर्वाचनमा शुक्रबार भएको मतदानमा सुर्खेतमा ७० प्रतिशत मत खसेको छ । सुर्खेतमा रहेका २ लाख १८ हजार ४३ मतदातामध्ये १ लाख ६७ हजार ७ मत खसेको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगर नगरपालिकामा ७१.८४ मत खसेको छ ।
पञ्चपुरी नगरपालिकामा ६८.४५ मत खस्दा लेकवेशी नगरपालिकामा ७३.०३ प्रतिशत मत खसेको प्रदेश निर्वाचन अधिकारी चालिसेले जनाए ।
यस्तै, भेरीगंगा नगरपालिकामा ७०.९८ प्रतिशत, गुर्भाकोट नगरपालिकामा ६८.६२ प्रतिशत, बराहताल गाउँपालिकामा ६९.१७ प्रतिशत, र सिम्ता गाउँपालिकामा ६५.८२ प्रतिशत मत खसेको छ ।
सुर्खेतका सबै स्थानीय तहमा शान्तीपुर्ण ढंगले मतदान सम्पन्न भएपनि सिम्ता गाउँपालिका– १ घोरेटाको भगवती मावि गान्द्रामा रहेको मतदान केन्द्रमा मतदान रोकिएको छ । तीनवटा फर्जी मतपत्र फेला परेपछि दिउँसो दुई बजे तनाव उत्पन्न भएको थियो । स्थानीयले मतदान अधिकृतले हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै कर्मचारीलाई घेरेका थिए । सुरक्षाकर्मीको सहायताले कर्मचारीलाई वीरेन्द्रनगर ल्याइएको थियो । उक्त मतदान स्थलमा पुनः मतदान गर्नेबारे निर्वाचन आयोगले निर्णय गरेपछि पुनः मतदान गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
सुर्खेतका नौ स्थानीय तहमध्ये पञ्चपुरी नगरपालिकामा राति १२ बजेदेखि मतगणना पनि सुरु भएको छ । निर्वाचन अधिकृत नविन भट्टका अनुसार हालसम्म चार सय मत गणना भइसक्दा नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
हालसम्म कांग्रेसले प्रमुखमा १ सय ६८ र उपप्रमुखमा १ सय ३५ मत प्राप्त गरेको छ । एमालेले प्रमुखमा ६८ र उपप्रमुखमा ७६ मत पाएको छ ।
नेकपा माओवादी केन्द्रले प्रमुखमा १ सय ३५ मत पाउँदा उपप्रमुखमा २२ मत पाएको निर्वाचन अधिकृत भट्टले बताए । उनका अनुसार राप्रपाले प्रमुखमा ७ र उपप्रमुखमा ५ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीले उपप्रमुखमा १ सय २० मत पाएको छ ।
सुर्खेतका अन्य स्थानीय तहको मत गणना बिहान ८ बजेदेखि सुरु हुने प्रदेश निर्वाचन अधिकारी चालिसेले बताए । उनका अनुसार प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकाको मतगणना पनि बिहान ८ बजेदेखि नै गणना हुनेछ । वीरेन्द्रनगरमा कूल ४८ हजार १ सय ७९ मत खसेको छ ।
