धनकुटाका तीन पालिकामा मतगणना जारी

वैशाख ३१, २०७९

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाका तीन वटा पालिकामा रातिदेखि मतगणना कार्य सुरु भएको छ । धनकुटा नगरपालिकामा राति २ बजेदेखि मतगणना सुरु भएको हो । सर्वदलीय बैठक बसेर मत गणना कार्य थालिएको मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिए । 

धनकुटामा बिहान ५ बजेसम्म एक सय मत मात्र गणना गरिएको जनाइएको छ । स्थानीय सामुदायिक भवनमा तार जालीले सुरक्षित गरिएको मत गणनास्थलमा सीसी क्यामेराले निगरानी गरिने व्यवस्था मिलाइएको छ । 

त्यसैगरी, छथर जोरपाटी गाउँपालिकामा पनि २ बजेदेखि मतगणना कार्य सुरु भएको छ । चौबिसे गाउँपालिकामा बिहानदेखि मतगणना थालिएको छ । महालक्ष्मी नगरपालिकामा भने बिहान ७ बजेदेखि सर्वदलीय बैठक बसेर मतगणना कार्य थालिने मुख्य निर्वाचन अधिकृत पराजुलीले बताए । 

तीन नगर र चार गाउँपालिका रहेको धनकुटामा ६७ दशमलव ६२ प्रतिशत मतदान भएको थियो ।

सहिदभूमी गाउँपालिका ६ स्थित ठाकुरदेवी माध्यमिक विद्यालयमा रहेका तीन मतदान केन्द्रमा भने विवादका कारण मतदान स्थगित भएको छ ।

स्थानीय तह निर्वाचन २०७९

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully