गोलाप्रथाबाट वडाअध्यक्षमा एमालेका गुरुङ विजयी

वैशाख ३१, २०७९

आश गुरुङ

लमजुङ — मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ विजयी भएका छन् ।

शुक्रबार रातिको मतपरिणाम अनुसार एमालेका उम्मेदवार गुरुङ र कांग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाले बराबर ३०/३० मत ल्याएका थिए । दुवैजनाको सल्लाहमा गोलाप्रथा गर्दा कैले गुरुङ वडाअध्यक्षमा विजयी भएको चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गुरुङ यसअघि पनि चामे गाउँपालिका ५ का वडाअध्यक्ष थिए ।

उक्त वडामै खुला सदस्यमा नेकपा एमालेका समिरा गुरुङ र नेपाली कांग्रेसका सेराव विष्टको बराबर २८/२८ मत खसेको थियो । दुवैजनाको सहमतिमा गोलाप्रथा गर्दा एमालेका समिरा विजयी भएका छन् । 

गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले र उपाध्यक्षमा कांग्रेसका मिङमार ढोमा लामा निर्वाचित भइसकेका छन् ।

स्थानीय तह निर्वाचन २०७९

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully