मनाङ ङिस्याङ १ को वडाध्यक्षमा एमालेका गुरुङ निर्वाचित

वैशाख ३१, २०७९

आश गुरुङ

लमजुङ — मनाङको मनाङ ङिस्याङ गाउँपालिका-१ को वडाध्यक्षमा एमालेका मिङमार गुरुङ निर्वाचित भएका छन् । उनी १ सय ६२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका टसी छिरिङ गुरुङले ७९ मत ल्याए ।

वडा नम्बर १ को मतगणना सकिँदा गाउँपालिकाकामा एमाले तर्फका अध्यक्षका उम्मेदवार कान्छा घलेले १६७ मत ल्याएका छन् । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले १ सय ६५ ल्याएका छन् ।  

यस्तै, कांग्रेसका अध्यक्ष उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले)ले ७३ मत ल्याएका छन् । कांग्रेसकी उपाध्यक्ष उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७३ मत ल्याएकी छन् । मनाङमा सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङ गाउँपालिकामा १ हजार ६ सय ५७ मत अर्थात् ४६ दशमलव ८७ प्रतिशतमात्रै मत खसेको छ ।

यस्तै, मनाङको नार्पा भूमि गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार फुन्चोक वङगे लामा विजयी भएका छन् । उनले ४१ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी फुन्जो पासाङ लामाले २१ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ ।

कुल ५ वटा वडामध्ये वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसक्दा अध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले आग्रता लिएका छन् । उनले ७५ मत ल्याएका छन् । यस्तै, कांग्रेसका अध्यक्ष उम्मेदवार कोन्जो तेन्जिङ लामाले ४७ मत ल्याएका छन् । 

यो गाउँपालिकामा उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भएका छन् । वडा नम्बर १ मा कांग्रेसका फुर्वा ठेले लामा निर्विरोध भइसकेका छन् । नार्पाभूमि गाउँपालिकामा ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत अर्थात् ६७ दशमलव ८५ प्रतिशत मत खसेको थियो ।

स्थानीय तह निर्वाचन २०७९

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully